डा. केसी फेरि काँग्रेस भए !

प्रकाश ढकाल
शीर्षक पढेर मलाई तपाईंले काँग्रेस देख्नुहोला । किनकी शीर्षकमा डा. केसीको समर्थन छ । विस्तारै बिषयबस्तुमा छिर्नुहुन्छ अनि नेकपाका कार्यकर्ता ठान्नुहोला । किनकी मैले प्रतिपक्षी नेपाली काँग्रेसलाई पनि सुझाव दिईरहेको छु । यो आर्टिकल पढ्दै जाँदा प्रत्येक बाक्यमा तपाईंहरुले मलाई धेरै पार्टीको कार्यकर्ता बनाउनुहुन्छ । उति धेरै बुझेर पनि म लेख्ने हिम्मत गरिरहेको छु । हामी बिषयबस्तुको गहनता भन्दा प्रत्येक बाक्यले कुन दलको समर्थन गरेको छ भनेर खोजिरहन्छौं । एउटा सामान्य मान्छेको लेखमा त यति धेरै राजनीति हुन थालेको छ अचेल अनि डा. केसीलाई कसरी यसबाट बचाईयोस् ! हिजो काँग्रेसको सरकार हुँदा केसी जी अनसन बस्नुभो, नेकपाले माग पूरा गर भनेर सडक ततायो तर सरकारले टेरपुच्छर लगाएन । आज नेकपाको सरकार छ, केसीजीको माग उही छन् । काँग्रेसले सडकबाट सरकारलाई भन्छ–केसीका माग पूरा गर । सरकार नसुनेझैं गर्छ । किनकी काँग्रेस सरकारमा हुँदा केसीजीलाई नेकपाको कार्यकर्ता ठान्यो र आज नेकपा सरकारमा हुँदा केसीजी काँग्रेसको कार्यकर्तामा दर्ज भए ।

केही नेकपाका नेताहरु भन्छन्–डा. केसीले सरकारी खर्चमा पढेर दुर्गममा सेवा गरेनन् । यसैलाई टेकेर सरकार भन्छ केसीजी आफ्ना बिगत हेर्नुस् र अनसन तोड्नुस् । विगत हेरेर सबैथोक छोड्नुपर्ने भए ओलीजी प्रधानमन्त्री हुने कि नहुने ? प्रचण्डजीले सत्ता सम्हाल्ने कि नसम्हाल्ने ? देउवाजी फेरि निर्वाचित भएर सरकारमा जाने कि नजाने ? किनकी वहाँहरुको विगतले त सरकार चलाउने सर्टिफिकेट दिएको छैन । घरमा हेर्नुस् बाबु मजाले रक्सीमा झुमेर आउँछ अनि छोरालाई भन्छ–छोरा रक्सी पिउनुहुन्न असल मान्छे बन्नुपर्छ । गाउँ डुलेर फर्केपछि आमा भन्छिन्–छोरी गाउँ डुल्नुहुन्न समाजले कुरा काट्छन् । रक्सी खाने र नखाने, गाउँ डुल्ने र नडुल्नेसँग नेपालीको चरित्र गाँसिएको हुन्छ । मैले के गरिरहेको छु र मैले भनेको छोराछोरीले टेर्छन् कि टेर्दैनन् भन्ने हेक्का बाबुआमालाई हुन्न । अहिले देशमा पनि यस्तै चलिरहेको छ ।

एकजना नेपाली नागरिक, एउटा डाक्टर र काँग्रेसका पूर्व समर्थक–डा. गोविन्द केसी यति धेरै चर्चामा छन् । सँगै चर्चामा छ नेपाली मेडिकल कलेजको बास्तविकता पनि । मेडिकल माफियाको अन्त्य गर्नुपर्छ, सबै जनताका छोराछोरीले डाक्टरी पढ्न पाउनुपर्छ, देशका हरेक क्षेत्रमा मेडिकल कलेज खुल्नुपर्छ भन्ने माग राख्नु डा. केसीको अपराध हो ? एउटा सरकारी जागिरे निशुल्क उपचारमा निश्किन्छ । पटक पटक अनसन बसेर जनहितका कुरा गर्छ, के उनी अपराधी हुन् ? नेकपाको नजरमा काँग्रेस हुन् भने केसीजी काँग्रेस नै सही । त्यसो भए मेरो जवाफ दिनुस्–के नेपालमा काँग्रेसले माग राख्ने अधिकार छैन ? एउटा नेपालको छोरो काँग्रेस, कम्युनिष्ट, विवेकशील साझा, नयाँशक्ति हुँदै विभिन्न पार्टी चहारेर आज केसीजी फेरि काँग्रेस भए ।

नेकपालाई सोध्यो भने केसीका केही माग जायज छन् तर काँग्रेसको समर्थन छ हामी माग पूरा गर्न सक्दैनौं भन्छ । काँग्रेसलाई सोध्यो भने केसीका सबै माग जायज छन्, सरकार केसीका मागमा झुक्नैपर्छ भन्छ । अरु केही पार्टीहरु पनि केसीका पक्ष र विपक्षमा छन् (बिशेषगरी नयाँ शक्ति, विवेकशील साझा लगायत), उनका मागको होईन । के डा. केसी नेकपाका शत्रु हुन् ? कि काँग्रेसका मित्रु ? कि अरु कुनै पार्टीका ? काँग्रेस सरकारमा हुँदा पनि उनी झन् धेरै अनसन बसे । देशको शासन ब्यवस्था सुधार गरौं भनेर एउटा नागरिकले आवाज उठाउँदा केही जमात उनको पक्षमा छ । चुनावमा काँग्रेसलाई भोट हालेको मान्छेले पनि समर्थन गरेको छ भनेर केसीका जायज मागलाई प्रतिपक्षीको माग देख्ने तिम्रा राजनीति कत्तिको जायज छ ? अनि सत्ताको छानामाथी बसेर प्रश्न गरिरहेका छौ–माग जायज भएको भए काँग्रेसले किन पूरा गरेन ? यो भन्ने अधिकार अहिले नेकपालाई छैन । एउटा साझा मागलाई राजनीतिक रंग घोलेर फाईदा लुट्ने दाउ खोज्ने काँग्रेसको चाहीँ के हैसियत छ ? तर यो अवस्थामा काँग्रेसभन्दा बढी जिम्मेवारी अभिभावकको हिसावले पनि नेकपाको काँधमा छ । किनकी काँग्रेसले देशमा केही गरेन भनेरै जनताले दुई तिहाई बहुमत नेकपालाई दिएका छन् । अव निकै जिम्मेवार पुर्वक जनताले सुम्पिएको जिम्मेवारी पूरा गर्नैपर्छ, नेकपाले ।

यसो भनिरहँदा काँग्रेसलाई यो अभियानबाट विमुख हुने छुट छैन । राजनीतिक लयमा फर्किन र विगतको गल्ती सच्याउन काँग्रेसले ठूलै मेहिनत गर्नुपर्छ । सरकारलाई सकारात्मक सुझाव दिने र गल्ती भएका ठाउँमा औंल्याउने दायित्वबाट पन्छिन मिल्दैन । यो बेला काँग्रेसलाई आफ्नो धुमिल राजनीति सङ्ल्याउने अवसर पनि हो । यति धेरै सरकारको जिम्मेवारी खोजिरहँदा आफुँ कति ठाउँमा जिम्मेवार पुर्वक प्रश्तुत भएं भन्ने हेक्का काँग्रेससँग पनि हुनैपर्छ । काँग्रेसले काम गरेन त्यसैले विरोध गर्ने छुट पनि उसलाई छैन भन्ने आसय मेरो हुँदै होईन । विरोध गर्न लोकतन्त्रमा मज्जाले पाईन्छ तर आफ्ना दायित्व पनि पूरा गर्नुपर्छ ।

मलाई थाहा छैन केसीका माग पूरा हुँदा काँग्रेसले के कमाउँछ र नेकपाले के गुमाउँछ भनेर । मलाई यो चाहीँ थाहा छ–उनका अधिकतम माग पूरा हुँदा देशले कमाउँछ र शत्रुले गुमाउँछन् । बाटोमा भेट्दा कसैको अगाडी मुसुक्क हाँस्यो भने जुनीजुनीसम्मको सम्बन्ध गाँस्ने संस्कार हामीसँग छ । संसारका शक्तिशाली भनिएका शासकलाई झुकाउने आध्यात्म (मन्दिर, गुम्बा, मस्जित लगायत) हामीसँग छ । श्रीमान् वित्यो भने श्रीमतिले चुनाव जित्ने र श्रीमति वित्यो भने श्रीमान्ले चुनाव जित्ने गज्जवको सेन्टिमेण्ट हामीसँग छ । विहान निस्किएपछि बेलुकी फर्किन्छ कि फर्किँदैन भन्ने त्रास हामीमा छैन, हामी यति शालिन र शान्त देशका नागरिक । आज हामीलाई आफ्नै दाजुभाइप्रति विश्वास छैन, कुरौटे छिमेकीको पछि लागेर आफ्नै आगनमा ढुंगा बर्साउने हाम्रो राजनीति अव त्यागौं । देश विकास हुँदा काँग्रेस, नेकपा, वा अरु कुनै अमुक पार्टीले पेवा ठान्नुपर्दैन यो नेपाली जनताको उपलब्धी हो । आरोप लाउने र एकअर्कालाई सँधै शत्रु देख्ने नेपालका काँग्रेस–कम्युनिष्ट नमिलेसम्म देश विकास हुनै सक्दैन, चाहे दुई तिहाई ल्याउनुस् चाहे पूर्ण मत ल्याएर सरकार चलाउनुस् । सरकारले कम्तिमा यति बुझोस् । अनि सत्ता बाहिर बसेर सरकारको ढ्यांग्रो ठोक्दैमा असल प्रतिपक्ष पनि भईंदैन, काँग्रेसले चाहीँ यो बुझोस् । त्यसैले सरकार र प्रतिपक्ष बीच भाईचारा कायम हुनैपर्छ । कार्यकर्ताले कम्तिमा यत्ति बुझुन् ।

पैसो कमाउने ठाउँ प¥यो भने सत्तापक्ष प्रतिपक्ष लिपिक्कै टाँसिने र भागवण्डमा तलमाथी हुने वित्तिकै आरोप–प्रत्यारोपमा उत्रिने राजनीतिक संस्कार कमसेकम जनताले त बुझुन् । यो संस्कारबाट कमसेकम कार्यकर्ता त अलि पर भागुन् । आफ्नो पार्टीकाले मान्छे नै मारेपनि अपराध नठान्ने अनि विपक्षी पार्टीकाले खसी काटेर खाँदा पनि हत्यारा देख्ने परम्परा दिमागबाट हटाईदिनुस् । प्रतिपक्षी नभएको संसद संसद नै होईन । तर प्रतिपक्षीको काम सबै ठाउँमा अवरोध गर्ने मात्रै पनि होईन । सत्तापक्षको काम सबै ठाउँमा पेलेरै जानेपनि होईन । जनभावनालाई नजरअन्दाज गरेर बनेका नीति, नियम र ऐन कानुन पनि कार्यान्वयन गर्न सजिलो छैन । हामी हाम्रो देशको बयान अरु कसैले गाईदियोस् भन्ठान्छौं । कुनै विदेशीले नेपाली भाषा बोल्दा उसलाई भगवान ठान्छौं । हाम्रा नेपाली बिदेशमा गएर नेपालीमा भाषण गर्दा, बोल्दा पाखे देख्छौं । काँग्रेसको समर्थन गर्दा कम्युनिष्टले अपराधी ठान्छ, कम्युनिष्टको समर्थन गर्दा काँग्रेसले उस्तै देख्छ । कसैको समर्थन नगरी बस्दा देशद्रोही भईन्छ ।

नेपालको राजनीति नै विरोधका भरमा टिकेको छ । महामानव विपी कोइरालादेखि जननेता मदन भण्डारीसम्म, पुष्पलालदेखि गणेशमानसम्म । राणाशासन अन्त्यदेखि दोश्रो जनआन्दोलनसम्म । र अहिलेसम्म पनि । जसले राजालाई गाली ग¥यो, जसले ठूलो स्वरमा चिच्याएर राणालाई गालि ग¥यो उही राष्ट्रवादी हुने चलन आजको होईन । आज अलिकति स्वरुप फेरिएको मात्र हो । राजा राणाबाट पार्टीगत विरोधमा छिरेका छौं । नत्र आफ्ना र छिमेकीलाई गाली गर्ने मान्छे नै अहिलेसम्म राष्ट्रबादी भएको इतिहास छ । राष्ट्रबाद जोख्ने तुलो नै कति गालि ग¥यो भन्नेमा अडिन्छ, उसको भिजनमा होईन । आज सोही नियतीमा छौं हामी । डा. केसीलाई गाली गर्ने राष्ट्रवादी र उनको पक्षमा बोल्ने राष्ट्रघाती भनेर चित्रित भएका छौं । यो दिनको अन्त्य खोज्नु आजको आवश्यक्ता हो । पन्ध्रौं पटकको अनसनले केसीको माग पूरा होस् जुन नेपाली जनताको चाहाना पनि हो ।
प्रतिक्रियाका लागि-sakuragorkha@gmail.com