डा. केसीको पक्राउमा प्रधानमन्त्रीको आक्रोश

काठमाण्डौं, पुस २५ ।
डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले असन्तुष्टी देखाएका छन् । प्रहरीले आफूलाई थाहै नदिई डा. केसीलाई गिरफ्तार गरेको उनको गुनासो छ । ‘प्रधानमन्त्रीज्यूलाई थाहै नदिई डा. केसीलाई पक्राऊ गरियो,’ प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भने–‘डा. केसीलाई अपराधीलाई जस्तै गरेर पक्राउ गरिएकोमा प्रधानमन्त्रीज्यू असन्तुष्ट हुनुहुन्छ ।’
‘अदालतले पक्रेर अदालत हाजिर गर्नु भनेर पुर्जी पठाएको हो । पक्राउ गरेर कष्टडीमा राख्न भनेको होईन, प्रधानमन्त्रीलाई उदृत गर्दै डिएनए नेपालसँग उनले अघि थपे–कष्टडीमा राख्नु आवश्यक्ता थिएन ।’ गृहमन्त्री समेत रहेका प्रधानमन्त्री देउवा केसीको पक्राउबारे बेखवर हुँदा पक्राउपछि यस्तो प्रतिक्रिया दिएका हुन् । तर, डा. केसीलाई पक्राउ गर्नुअघि आइजीपी वा अरू कुनै पनि प्रहरी अधिकारीले आफूलाई जानकारीसम्म नदिएको देउवाको गुनासो छ । प्रधानमन्त्री देउवाले यसबारे आइजीपी प्रकाश अर्याललाई पनि सोधखोज गरेको र डा. केसीलाई सकेसम्म तत्काल रिहा गर्ने पहल थालेको प्रेस संयोजक परियारले संकेत गरे ।