डडेलधुरामा बस दुर्घटना–१८ जनाको मृत्यु, १५ घाईते

डडेलधुरा, मंसिर ६ ।
डडेलधुरा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । बस उग्रतारा मन्दिरको मेला हेरेर डोटी फर्किने क्रममा डा केआई सिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–११, रदुवा खोलामा दुर्घटनामा परेको हो ।

उपचारका लागि डडेलधुरा सदरमुकामस्थित उपक्षेत्रीय अस्पताल ल्याइएकामध्ये थप २ जनाको मृत्यु भएपछि मृतकको संख्या १८ पुगेको डडेलधुराका प्रहरी प्रमुख डिएसपी डम्बरबहादुर केसीले जानकारी दिए । यसअघि १२ जनाको घटनास्थलमा र ४ जनाको उपचारका क्रममा मृत्यु भएको थियो । हाल उपक्षेत्रीय अस्पतालमा १५ जनाको उपचार भइरहेको छ ।

केसीका अनुसार डोटीको शिखर नगरपालिकाको बानिडुग्रेसइनस्थित पिस जोन एकेडेमीको बस से१क २९३ नम्बरको बस सडकबाट करिब ३ सय मिटर तल रदुवा खोलामा खसेको थियो । बसमा ३५ जनाभन्दा बढी सवार रहेको अनुमान गरिएको छ। हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा उद्दार कार्य चलिरहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेको संख्या बढी रहेकाले मृतकको संख्या बढ्नसक्ने जनाइएको छ ।

दुर्घटनाको कारण भने हालसम्म खुल्न नसकेको प्रहरी प्रमुख केसीले बताए । बिहीबार अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएका व्यक्ति सवार स्कूल बस दुर्घटनामा परेको हो ।