ठूलो मात्रामा लागू औषध सहित पोखराबाट एकजना पक्राउ

पोखरा, पुस २ ।
ठूलो मात्रामा लागू औषध सहित कास्की प्रहरीले एकजनालाई पोखराबाट पक्राउ गरेको छ । प्रहरी सहायक निरीक्षक सन्तोष सुवेदीको नेतृत्वमा खटिएको टोलिले पोखरा ४ गणेशटोलबाट लागू औषध सहित लागू औषध कारोबारी पक्राउ गरेको हो ।

तनहूँको शुक्लागण्डकी १ कोत्रे घर भई पोखरा ४ गणेशटोल बस्ने ३० बर्षका अनिल क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो । उनको डेराबाट १ सय ८ थान फेनरागन, १ सय ८ थान बुप्रिनर्फिन र १ सय ८ थान डाइजापाम गरि ३ सय २४ थान लागू औषध बरामद गरेको कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।

उनलाई कास्की जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ । पोखरामा पछिल्लो समय लागू औषध बरामद झन् बढी भैरहेको छ । कास्की प्रहरीले लागू औषध नियन्त्रणका लागि अभियान नै सञ्चालन गरेपनि लागू औषध कारोबारी घटेका छैनन् ।