ठूला नेताको चासो छैन मुख्यमन्त्रीमा

काठमाण्डौं, असोज २५ ।
नेपालमा पहिलोपटक प्रदेश सभाको अभ्यास हुँदै छ । प्रदेश सभा अझै पनि कुन ढाँचाको हुने र कुन अधिकार प्रयोग गर्न पाउने स्पष्टता छैन । प्रदेश सभाले उपयोग गर्न पाउने स्रोत–साधनको पनि प्रस्टता छैन । प्रदेशले उपयोग गर्ने स्रोतबारे प्रस्ट नहुँदा प्रदेश सभामा ‘हेभिवेट’ नेताहरूले इच्छा नदेखाएको अर्थशास्त्री डा. शंकर शर्माको भनाइ छ । ‘प्रतिनिधिसभामा धेरै स्रोत–साधनमा चलखेल गर्न पाएका नेताहरू प्रदेशभित्रका स्रोत र साधनको उपयोगबारे प्रस्ट नहुँदा उनीहरूमा अनाकर्षण देखिएको छ,’ शर्माले भने ।
नेताहरूमा प्रदेशको स्रोतमाथिको पहुँच र उपयोगबारे जानकारी नहुँदा समस्या देखिएको हो । प्रदेश सभा कस्तो हुने ? कसरी काम गर्ने ? मुख्यमन्त्रीले कतिसम्म काम गर्ने अभ्यासबाट पुष्टि नहुँदा ‘हेभिवेट’ नेताहरूमा प्रदेश सभाप्रति अनाकर्षण देखिएको राजनीतिशास्त्री प्रा.डा. प्रेम शर्माको विश्लेषण छ । ‘अञ्चल कार्यालय र जिल्ला विकास समितिले गर्ने कामभन्दा प्रदेश सभाले गर्ने काम कति फरक हुन्छ भन्ने बुझ्न सकेका छैनन्,’ उनले भने ।
प्रतिनिधिसभालाई माथिल्लो तह र प्रदेश सभालाई तल्लो तह भन्ने तहगत उच र निच दर्जाको मान्यताले पनि नेताहरू प्रदेश सभामा जान नचाहेको पूर्वमुख्यसचिव डा. विमल कोइरालाको विश्लेषण छ । ‘उच र निच दर्जाको मनोविज्ञान बन्नुमा सामाजिक बनोटको दोष हो, सबै तह समान हुन् भन्ने मानसिकता विकास नहुदाँसम्म यस्तो भइरहन्छ,’ उनले भने ।
राजनीतिमा शक्ति र सत्तामुखी प्रवृत्ति हाबी भएकाले नेताहरू केन्द्रीय तहमा हाबी हुन खोजेका हुन् । दलका नेताहरूले प्रदेश सभाभन्दा प्रतिनिधिसभालाई शक्तिको केन्द्र ठानिरहेका छन् । त्यसले गर्दा पनि नेताहरू प्रतिनिधिसभाप्रति आकर्षित भएका हुन् ।