ठमेलका ‘गुन्डा नाइके’ मनाङबाट ‘माननीय’

पोखरा, मंसिर २२ ।
बिहीबारसम्म प्रहरीको ‘ठुला गुन्डा नाइके’को सूचीमा रहेका दीपक मनाङ्गे उर्फ राजिव गुरुङ शुक्रबारदेखि माननीयको सूचीमा दर्ज भएका छन् । मनाङ ख बाट प्रदेशसभाका उम्मेदवार बनेका मनाङ्गेले १ हजार ४ सय १० मत पाएका छन् । उनका प्रतिद्वन्द्वीले १ हजार २० मत पाएका छन् ।
राजधानीमा तीन पुराना ‘डन’मध्ये एक हुन मनाङ्गे । विगतमा संरक्षणका लागि मात्र राजनीतिक पार्टीमा आवद्ध हुने गरेका उनी यसपटक नेकपा(एमाले) प्रवेश गरेको दुई महिनामा नै माननीय बन्न सफल भएका हुन् ।
८ महिना अघिसम्म पनि प्रहरीले उनलाई सक्रिय गुण्डाकै सूचीमा राखेको थियो । गत बैशाखमा सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचनमा चुनावमा शान्ति सुरक्षामा असर र्पुयाउन सक्ने आशंकामा काठमाडौं प्रहरीले पक्राउ गरी उनलाई सार्वजनिक अपराधको मुद्दामा थुनेको थियो । तर, ८ महिनाअघि हत्कडी लगाएका प्रहरीले अहिले उनलाई ‘स्यालुट’ गर्नुपर्ने भएको छ । मनाङबाट उनी प्रदेशसभाको सांसदमा निर्वाचित भएका छन् ।