ट्राफिक कार्यालयको मोटरसाइकल डम्पिङ हट्यो

पोखरा, पुस २२ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय अघि राखिएका थोत्रा मोटरसाईकल हटाईएको छ । लामो समयदेखि कार्यालय अगाडी राखिएको मोटरसाईकलहरु शनिबार हटाईएको हो । हटाईएका मोटरसाईकल दमकल भएको ठाउँमा राखिएको छ ।

पहिलो चरणमा ५१ वटा मोटरसाईकल हटाईएको ट्राफिक प्रमुख मुरारी मिश्रले जानकारी दिए । उनका अनुसार अरु मोटरसाईकल तथा गाडीहरु पनि केही दिनभित्रै हटाईने छ । ‘शहरको मुख्य चोकमा थोत्रा गाडी र मोटरसाईकल थुपार्दा म्यासेज नराम्रो भयो । अव यसको ब्यवस्थापन छिटै हुन्छ, उनले भने–पहिलो चरणमा कार्यालय अगाडीको मोटरसाईकल हटायौं । अव अरु ठाउँमा राखिएका गाडी र मोटरसाईकल पनि दमकलमा लैजान्छौं ।’

सूचना जारी गरेर आफ्नो मोटरसाईकल लिन आउन आग्रह गरिने र त्यसो गर्दा पनि नआए नियमानुसार प्रक्रिया अघि बढाईने उनले बताए । करिव ३ सय ५० भन्दा बढी मोटरसाईकलहरु ट्राफिक कार्यालय अगाडी डम्पिङ भएर बसेको छ ।

कागजपत्र नभएका र चोरीका मोटरसाईकलहरु प्रहरीको चेकजाँचमा पक्राउ परेर राखिएको हो । धनीहरु अधिकांश विदेश भएकाले पनि मोटरसाइकल लिन आउने मान्छे नभएको प्रहरीले जनाएको छ । सूचना जारी गरेपछि विस्तारै लिलामी प्रक्रियामा लैजाने मिश्र बताउँछन् ।

Photo-Sudarshan Ranjit