ट्याक्सीको दादागिरी हटाउन एसपी नै ग्राउण्ड झरे (फोटो फिचर)

पोखरा, पुस २६ ।
बढी भाडा असुल्ने गरेको यात्रुको गुनासोपछि केही ट्याक्सी चालकलाई कास्की प्रहरीले कारबाही गर्यो । मंगलबार १८ जनालाई सादा पोसाकका प्रहरीले अनुसन्धान गरी कारबाहीको दायरामा ल्याए । त्यसको विरोध स्वरुप ट्याक्सी ब्यवसायीले बुधबार पोखराका सडक कब्जा गरेर नारा लगाए । झण्डै ३ घण्टा पोखरामा गाडी आउजाउ भएन । त्यसको असर सर्बत्र परेको छ । उनीहरुले बाटो जाम गरेपछि प्रहरीले हटाउने धेरै प्रयास गर्यो तर ब्यवसायीहरु टसमस भएनन् । अन्त्यमा कास्की प्रहरी प्रमुख नै ग्राउण्ड झरे । ट्राफिक ब्यवस्थापनमा समस्या भएपछि एसपी असोक सिंहको नेतृत्वमा पृथ्वीचोकबाट आन्दोलनका लागि रोकिएका ट्याक्सी हटाईएको थियो ।
केही ट्याक्सीहरु प्रहरीले बोकेर सडक किनारा लगाएका छन् । ‘आन्दोलन र विरोध गर्ने छुट सबैलाई छ । तर अर्कालाई असर पर्ने काम गर्नु गैर कानुनी हो, एसपी सिंहले भने–हामीले नियम पालना गर्न भनेका हौं । कानुन र नियम विपरित काम गर्ने अधिकार कसैलाई पनि छैन ।’ मिटरमा नचलाउने र तोकिएको भन्दा बढी भाडा असुल्ने ट्याक्सीलाई कारबाही गरिएको उनले बताए । उनका अनुसार नियमविपरित काम गर्ने ट्याक्सीलाई थप कारबाहीका लागि यातायात ब्यवस्था कार्यालयमा पठाईएको छ ।
‘तोकिएको भन्दा बढी भाडा असुल्ने पनि जनता र उपभोक्ता माथी गरिएको ठगी हो । यसको बारेमा ब्यापक कम्प्लेन आईरहेको थियो, उनी भन्छन्–अहिले प्रहरीले अपरेसन थालेको छ । अब कुनैपनि ट्याक्सीले बढी भाडा लिएको र मिटरमा नगएको थाहा पाएमा तत्काल कारबाही थाल्छौं ।’ बुधबार बाटोमा अवरोध सिर्जना गरेको भन्दै थप १५ जनालाई नियन्त्रणमा लिएर कारबहीको प्रक्रिया सुरु गरेको छ । पोखरामा मिटर ट्याक्सी चलाउनका लागि अभियान सुरु भएको र कुनैपनि हालतमा पछि नहट्ने एसपी सिंहले बताए । उनले पोखरा प्रबेश गर्दाताका नै शान्ति सुरक्षा र ट्राफिक ब्यवस्थापन तथा लागू औषध नियन्त्रण मुख्य प्राथमिकतामा रहेको बताएका थिए । कास्की प्रहरीले कार्ययोजना अनुसार नै काम गरिरहेको जनाएको छ ।
यसैबीच, पोखरामा बुधबार ट्याक्सी ब्यवसायी आन्दोलनकै कारण विरामीलाई समेत असर परेको छ । गण्डकी मेडिकल कलेजले काठमाण्डौं रिफर गरेको विरामी गाडी बन्द भएका कारण हेलिकोप्टरमार्फत आफन्तले काठमाण्डौं लगेका छन् । बन्दका कारण गण्डकी मेडिकल कलेजको विरामी एयरपोर्टमा जाने पनि सम्भावना नभएपछि एम्बुलेन्स मार्फत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याएर प्रभु एयरको हेलिकोप्टर मार्फत काठमाण्डौं पठाईएको हो ।

तस्विर सुदर्शन रञ्जित