टिकट लिन नेताको राजधानी दौड

प्रकाश ढकाल
पोखरा, असोज २३ ।
प्रतिनिधी सभा र प्रदेश सभाको चुनाव नजिकिँदै गएपछि राजनीतिक दलहरुमा चुनावप्रतिको चासो उत्तिकै बढेको छ । सवैजसो दलहरुले जिल्लाबाट सम्भावित उम्मेदवारहरुको नामावली केन्द्रमा सिफारिस पठाईसकेका छन् । जिल्लाबाट नाम सिफारिस भएपछि उम्मेदवारका आकांक्षी अहिले केन्द्रिय नेतृत्वसँगको भेटघाटमा ब्यस्त छन् । सबैजसो नेताहरु यतिबेला राजधानीमै छन् ।
९ जना प्रत्यक्षतर्फको उम्मेदवार छान्न काँग्रेस कास्कीबाट झण्डै सयको हाराहारीमा नाम सिफारिस भएको छ । प्रत्यक्षतर्फ केन्द्रका लागि २१ र प्रदेशका लागि ६२ गरी ८३ जनाको नाम पठाईएको हो । समानुपातिकमा केन्द्रतर्फ १९ जना र प्रदेशमा ५५ गरी ७४ जनाको नाम सिफारिस गरिएको काँग्रेस कास्कीले जनाएको छ । उम्मेदवारीका लागि दर्ता गरिएका सबै नाम काँग्रेस कास्कीका सभापति कृष्ण केसी मंगलबार नै केन्द्रिय कमिटिलाई बुझाएका छन् । केहिबाहेक सिफारिसमा परेका अधिकांश नेताहरु अहिले काठमाण्डौं केन्द्रित भएका छन् । नेतृत्वलाई खुशी पार्ने र आफ्नो पक्षमा टिकट हत्याउने प्रयासमा नेताहरु दिनरात लागिरहेका छन् ।
कास्कीका ३ मध्ये क्षेत्र नम्बर १ काँग्रेसका लागि तुलनात्मक रुपमा सहज क्षेत्र हो । यो क्षेत्रमा कानुनमन्त्री तथा सांसद यज्ञबहादुर थापा र पुर्व कानुनमन्त्री तथा सभामुख तारानाथ रानाभाट बलियो उम्मेदवारको रुपमा अघि बढेका छन् । धेरैको नाम सिफारिस भएपनि प्रतिनिधी सभाको सांसदका लागि यी दुई मध्ये एकले टिकट पाउने अनुमान छ । यो क्षेत्रमा एमालेले सल्लाहकार परिषदका केन्द्रिय उपाध्यक्ष खगराज अधिकारीलाई सर्वसम्मत उम्मेदवार बनाईसकेको छ भने माओबादीबाट पुर्व मन्त्री देव गुरुङ सर्वसम्म सिफारिस भएका छन् । नयाँ शक्तिले कर्णेल मदन केसीलाई उम्मेद्वार बनाउने टुंगो लगाएको छ ।
२ र ३ नम्बर क्षेत्र काँग्रेस भन्दा एमाले बलियो देखिन्छ । काँग्रेसबाट सोभियतबहादुर अधिकारी र देवराज चालिसे मध्ये कुनै एकले टिकट पाउन सक्छन् । यद्यपी कास्कीलाई केन्द्रिय नेतृत्वले कसको पक्षमा पार्न सक्छ त्यसमा पनि भर पर्छ । अधिकारी प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासिलो पात्र हुन् भने चालिसेलाई रामचन्द्र पक्षले बढी रुचाउँछ । एमाले, माओबादी र नयाँ शक्तिले यो क्षेत्रमा पनि सर्वसम्मत उम्मेदवार सिफारिस गरेका छन् । एमालेबाट संसद विकास समितिका सभापति रवीन्द्र अधिकारी, माओबादीबाट कास्की इञ्चार्ज राजकाजी गुरुङ र नयाँ शक्तिले जिल्ला संयोजक हेम बहादुर थापालाई उम्मेदवार बनाउने तयारी गरेको छ ।
क्षेत्र नम्बर ३ यसपाली बढी रोचक हुने देखिएको छ । माओबादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आँफै उम्मेदवार बन्ने संकेत माओबादी श्रोतबाटै बुझिएको छ । यद्यपी यसअघि उनी चितवन ३ बाट उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । काँग्रेसले शुक्रराज शर्मा वा महादेव गुरुङ मध्ये एकलाई टिकट दिने बुझिएको छ । यसमा पनि गुटगत राजनीति हावी हुन सक्छ । एमालेबाट जगत विश्वकर्मा वा जगन्नाथ बास्तोला मध्ये कोही एक उम्मेदवार हुन सक्छन् । माओबादीले यो क्षेत्रबाट ३ जनाको नाम सिफारिस गरेको छ । तर रामजी बराललाई बढी सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ ।
प्रदेशतर्फ एमाले र काँग्रेसको उस्तैउस्तै नतिजा आउन सक्छ । क्षेत्र नम्बर १ का दुईवटै क्षेत्र काँग्रेसलाई बढी सम्भावना भएको क्षेत्र हो । यस्तै क्षेत्र नम्बर २ को (ख) पनि काँग्रेसलाई राम्रै मानिन्छ । बाँकी क्षेत्र एमाले हावी हुने सम्भावना छ । तर उम्मेदवारको ब्यक्तित्वले पनि चुनावमा असर गर्छ । क्षेत्र नम्बर १ को (क) मा काँग्रेसबाट सुदीपमोहन भट्टराई, कोपीला रानाभाट र राजेन्द्रमणी लामिछानेलाई मुख्य दावेदारको रुपमा हेरिएको छ । एमालेबाट टिकाराम पंगेनी वा दिलिप न्यौपानेमध्ये एक उम्मेदवार हुनेछन् । माओबादीबाट झलकपाणी तिवारी बलिया दावेदार हुन् । प्रदेश सभाकै लागि (ख) बाट काँग्रेसका लागि जिल्ला सभापति कृष्ण केसी प्रमुख दावेदार हुन् भने एमालेबाट जिल्ला उपाध्यक्ष मन बहादुर गुरुङलाई टिकट दिन सक्ने बुझिएको छ । माओबादीले पार्टी अध्यक्ष दिपक कोइराला वा विश्वप्रकाश लामिछाने मध्ये एकलाई टिकट दिन सक्छ ।
क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र (क) मा विजयराज आचार्य वा केशरप्रसाद निर्दोषीलाई सम्भावनाको रुपमा हेरिएको छ । एमालेबाट पार्टी अध्यक्ष कृष्ण थापा आँफै यस क्षेत्रको उम्मेदवार बन्न सक्छन् । जिताउने गरी उम्मेदवार बनाउनकै लागि उनलाई (क) बाट (ख) मा ल्याईएको बुझिन्छ । उनी महानगरको मेयरमा पनि सिफारिसमा परेका थिए । माओबादीबाट गंगा पोख्रेल सर्वसम्मत उम्मेदवार सिफारिस भैसकेका छन् । (ख) मा नरेशशंकर पालिखे र विन्दुकुमार थापामध्ये एकलाई टिकटको दावेदार मानिएको छ । दुवैजना महानगरको मेयरका लागि सिफारिसमा परेका ब्यक्ति हुन् । पार्टी केन्द्रिय कमिटिले अन्तिम समयमा पालिखेको टिकट खोसेको गुनासो बढी छ । स्थानीय तहको चुनावमा पार्टीलाई असहयोग गरेको आरोप पनि उनीमाथी छ । उनलाई कारबाहीका लागि अनुसासन विभागमा उजुरी समेत दर्ता भएको काँग्रेस श्रोत बताउँछ । काँग्रेसले यसअघिका चुनावमा पार्टीलाई असहयोग गर्नेलाई उम्मेदवार बनाउने तयारी गरेको छ । यो क्षेत्रमा काँग्रेसबाट क्षेत्रीय सभापति माधबप्रसाद बास्तोला, वीरेन्द्रनारायण विजुक्छे र सुनयना पालिखेलाई पनि कमजोर आँक्न नमिल्ने काँग्रेसीहरु बताउँछन् । एमालेले यहाँ प्रभा कोइरालालाई टिकट दिन सक्ने प्रवल सम्भावना छ भने माओबादीले रामप्रसाद पौडेललाई सर्वसम्मत बनाएको छ । यसअघि कोइराला उपमेयरको सिफारिसमा परेकी थिईन् । प्रदेश सभामा उम्मेदवार बनाउने सहमति गरेर उनलाई थमथमाएको एमाले श्रोत बताउँछ ।
३ नम्बर क्षेत्रको प्रदेश (क) मा रामचन्द्र त्रिपाठी वा विष्णु बहादुर क्षेत्रीलाई काँग्रेसले उम्मेदवार बनाउन सक्छ । एमालेबाट दलबहादुर गुरुङ मुख्य दावेदार हुन् । शारिरीक समस्याका कारण लामो समयको उपचारपछि उनी पुनः राजनीतिमा छिर्ने दाउ खोजिरहेका छन् । माओबादीबाट सुमिता बस्नेत, तीर्थ लुईँटेल वा राजु तिमिल्सीना मध्ये एक उम्मेद्वार हुन सक्छन् । (ख) तर्फ तरुण दल अध्यक्ष मनोज गुरुङ वा देवेन्द्रकुमार शेरचनालाई बढी सम्भावितको रुपमा हेरिएको छ । यद्यपी आइबहादुर गुरुङ र राजबहादुर गुरुङ पनि बलिया उम्मेदवार ठानिएको छ । एमालेले युवा संघका केन्द्रिय अध्यक्ष राजीव पहारी वा जिल्ला सचिव दामोदर वैरागीलाई उम्मेदवार बनाउन सक्नेछ । वैरागी यसअघिको स्थानीय चुनावमा वडा सदस्यमै पराजीत भएका थिए । माओबादीबाट गोमा ढकाल वा भेषराज पौडेलको नाम बढी सम्भावनाको रुपमा देखाईएको छ । ढकाल महानगरको चुनावमा उपमेयरको उम्मेदवार बनेर पराजीत भएकी थिईन् ।
जिल्लाबाट उम्मेदवार सिफारिस भएपनि वाम र लोकतान्त्रीक गठबन्धनको अन्यौलताले बाँडफाँड समेत खलबलिएको छ । गठबन्धन भएमा भागबण्डा हुँदा उम्मेदवार यताउती हुन सक्ने अधिक सम्भाबना छ । तर नेताहरुको त्यसको वास्ता खासै गरेका छैनन् । उनीहरु आफ्नो पोल्टामा सिफारिस टुंग्याउन निकै जोडबल गरिरहेका छन् । सबै पार्टीहरु असोज २७ अघि नै उम्मेदवारको टुंगो लगाउने तयारीमा जुटिरहेका छन् । कात्तिक ५ गते उम्मेदवारले मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।