झुक्याएर तिब्बतीलाई नेपाली नागरिकताः पोखराबाट ८ जना पक्राउ

पोखरा, साउन २७ ।
झुठो विवरण पेस गरी तिब्बती शरणार्थी क्याम्प याम्दीमा बस्ने तिब्बतीलाई नेपाली नागरिकता दिलाएको अभियोगमा आठ नेपाली पक्राउ परेकबबआ छन् । कास्की प्रहरीले पोखरा महानगरपालिका–२५ हेम्जास्थित तिब्बती शरणार्थी क्याम्प याम्दीका तासीआङ्मो थापा मगर र सरु थापा मगरलाई पक्राउ गरेको हो ।

तिब्बतीलाई नागरिकता दिलाउन झुठो विवरण तयार गर्ने बुबा–आमासहित साक्षीलाई पनि प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपलिका–१८ सराङकोटका लेखबहादुर थापाले उनीहरूलाई छोरी भन्दै नागरिकता दिलाएका थिए । बाबु बनेका लेखबहादुरसहित २६ वर्र्षीया तिब्बती तासीआङ्मो थापा मगर र २७ वर्षीया सरु थापा मगर पक्राउ परेका हुन् ।

त्यस्तै, साक्षी बस्ने पोखरा–१८ सराङकोटका कमल थापा, ज्ञानबहादुर थापा मगर, सन्तोष थापा मगर, बेलबहादुर थापा र ईमा थापा मगर पनि पक्राउ परेका छन् । उनीहरूविरुद्ध अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।