झण्डै तीनबर्षदेखि पोखरामा लुकेर बसेका रुसी परिवार पक्राउ

पोखरा, मंसिर २९ ।
अढाइ वर्षदेखि भिसाको म्याद नघाएर नेपाल बसिरहेको ४ सदस्यीय रुसी परिवार पक्राउ परेको छ । उक्त परिवार पोखरा आसपासमा मजदूरी गरेर बसेको अवस्थामा २६ मंसिरमा पक्राउ परेको हो । यो खबर हिमाल खबरले प्रकाशित गरेको छ ।

पक्राउ पर्नेहरूमा रुसी नागरिक खामोव दिमित्री (४६), उनकी श्रीमती कोभालिन्को भेलिरिया (२६), उनीहरूका छोराहरू कोभिलिन्को बोग्दान (३) र ११ महिने इमेलिन छन् ।

अध्यागमन कार्यालय पोखराले उनीहरूलाई पोखरा–६ खहरेखोला नजिकबाट पक्राउ गरेको हो । उक्त परिवार त्यहाँ छाप्रो बनाएर बसेको थियो । र, मजदूरीबाट पालिएको थियो । “यो परिवार कहिले वरपरका किसानकहाँ त कहिले होटलमा मजदूरी गर्दो रहेछ,” अध्यागमन कार्यालय पोखराका प्रमुख सन्तोष लामिछानेले भने ।

गाउँ नजिकैको खुला ठाउमा अचम्मसँग एउटा विदेशी परिवार केही वर्षदेखि बसिरहेको बताउँदै गाउँलेले अध्यागमन कार्यालय पोखरामा खबर गरेपछि उनीहरू पक्राउ परेका हुन् ।

१२ अप्रिल २०१६ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै पर्यटक भिसामा काखे छोरो कोभिलिन्को बोग्दान लिएर नेपाल प्रवेश गरेका थिए, दिमित्री र भेलिरिया । ११ महीनाअघि पोखरामै जन्मेका हुन्, इमेलिन । यो परिवार गाउँलेसँग सामान्य छिमेकीझैं मिलेर बसेको थियो ।

अध्यागमन विभागले उनीहरूको नेपाल बसाइको ‘ओभर स्टे’ (भिसा म्याद नाघेपछिको बसाइ) ९७७ दिन भएको जनाएको छ । अध्यागमन कानूनअनुसार भिसाको म्याद गुजारेर नेपाल बस्दा जनही प्रतिदिन ५ अमेरिकी डलर जरिवाना लाग्छ । त्यस्ता व्यक्तिलाई कारवाहीपछि उनीहरूको देश ‘डिपोर्ट’ गर्ने गरिन्छ ।