जेलभित्रै जुवातासको अखडा–चौकीदारको आम्दानी मासिक ४ लाख

काठमाण्डौं, मंसिर ३ ।
सिन्धुपाल्चोक कारागारका चौकीदार गणेश लामिछानेले कैदीहरूलाई शोषण गरेर र जुवातास खेलाएरै मासिक ४ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेको पाईएको छ । कारागारको मेस समेत चलाएका चौकीदार लामिछानेले एउटा अन्डाको एक सय रुपैयाँसम्म लिने गरेका छन् । कारागारमा निषेध गरिएका सबै प्रकारका रक्सी (मादपकपदार्थ) लामिछानेले उपलब्ध गराउने गरेका छन् ।

कारागार प्रशासन र प्रहरीसँग सेटिङ मिलाएर भित्र्याइएको एक क्वाटर भोड्का (रक्सी)को उनले २ हजार ५ सय रुपैयाँसम्म असुल्ने गरेको स्रोतले जानकारी दियो । त्यसैगरी, कैदीको रासनमा समेत घोटाला गरेर उनले मासिक ४ लाख रुपैयाँ रकम कमाउँदै आएका छन् । जसमध्ये एक लाख रुपैयाँ आफ्ना सहयोगीलाई बाँड्ने र बाँकी रकम आफूले राख्ने गरेको स्रोतले जानकारी दियो ।

कारागारको भित्री प्रशासनको सम्पूर्ण जिम्मेवारी सम्हालेका उनीविरुद्ध कुनै कैदी बन्दीले बोल्न सक्ने हिम्मत समेत गरेका छैनन् । उनी विरुद्ध कसैले बोलेमा कोठामा थुनेर समेत कुट्ने गरेको तथ्य नेपाल लाइभले फेला पारेको छ ।

एक जना पीडित पूर्व कैदी भन्छन्, ‘कारागारमा राणाशासन छ । चौकीदार लामिछानेविरुद्ध कसैले बोल्न समेत सक्दैनन् ।’ चौकीदार लामिछानेको शोषण बारेको जानकारी कारागार विभागमा समेत पुगिसकेको छ । विभागले अनुसन्धान गरेर कारबाही गर्ने आश्वासन दिएको छ ।