जेब्राक्रसमै पैदलयात्रुलाई माइक्रोले ठोक्यो–एकजनाको मृत्यु, ४ घाईते

काठमाण्डौं, पुस २३ ।
काठमाण्डौंको सामाखुशी चोक नजिक जेब्राक्रसमा बाटो काटिरहेका व्यक्तिहरुलाई माइक्रो बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ४ जना घाइते छन् । महागनगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) फडिन्द्र प्रसाईंका अनुसार मृत्यु हुनेमा धुम्बाराहीकी ६० वर्षीया सीता दाहाल छिन् ।

घटनालगत्तै गम्भीर घाइते भएकी उनलाई नजिकैको अल नेपाल अस्पताल लगिएको थियो । तर, बाटैमा उनको मृत्यु भएको प्रसाईंले जानकारी दिए । घटनामा खोटाङकस् १९ वर्षीय सपना राई, काटेश्वरका ५३ वर्षीय सुशील अधिकारी, ५० वर्षीया सरिता अधिकारी र धुम्बाराहीका ३५ वर्षीया लक्ष्मी सापकोटा घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइते मध्ये लक्ष्मीको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ भने अन्यको अल नेपाल अस्पतालमै उपचार भइरहेको छ । ठक्कर दिने माइक्रो र चालक प्रहरीको नियन्त्रणमा छन् ।

घटनामा घाइते भएका सुशिल अधिकारीले जेब्रा क्रसमा पनि हुत्याएर माइक्रो ल्याउँदा दुर्घटना भएको बयान दिएका छन् । प्रहरीले घटना कसरी भयो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ । हाल ठक्कर दिने माइक्रो र चालक प्रहरी वृत्त, महाराजगञ्जको हिरासतमा छन् ।