जीरो–विन्ध्यवासिनी सडक खण्डको फिर्केमाथी नयाँ पुल बनाईने, साढे १२ करोड खर्च हुने

पोखरा, पुस २४ ।
पोखरा–बागलुङ सडक खण्ड अन्तर्गत जीरो–विन्ध्यावासिनी सडकको फिर्के खोलामा नयाँ पुल निर्माण सुरु भएको छ । ४ लेन सडक भएपनि बीचको पुल निकै साँघुरो भएपछि सडक डिभिजन कार्यालय पोखराले फराकीलो पुल बनाउन लागेको हो । पुल निर्माणका लागि ठेक्का सम्झौता भैसकेको छ ।

४ लेन फराकीलो पुल निर्माण गर्न लागिएको डिभिजन सडक पोखराले जनाएको छ । हालको पुलबाट दायाँतर्फ २ लेन र बायाँतर्फ २ लेनको पुल निर्माण हुन लागेको छ । नयाँ पुल बनेपछि बीचको पूरानो पुल भने प्रयोगमा आउने छैन ।

डिभिजन सडक पोखराले ललितपुरको शान्ती–आरोग्य जेभीसँग १२ करोड ३२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको हो । पुल २०७७ चैत मसान्तभित्र बनाईसक्नुपर्नेछ ।

पुल निर्माणका लागि ठेकेदार कम्पनीले काम थालिसेकेको छ । केहीदिन अघि ठेकेदार कम्पनीले सामान्य अध्ययन गरेर फर्किएको छ । अव केही दिनमा दररेट टुंग्याएर काम सुरु गर्ने बताईएको छ । २५ मिटर फराकीलो पुलमा ४ लेन सडक गाडी गुड्न प्रयोग हुनेछ । पुल ५० मिटर लामो छ ।