जीप पल्टिँदा ४ जनाको मृत्यु

दैलेख, मंसिर १२ ।
दैलेखमा बुधबार बिहान जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । सुर्खेतबाट दैलेखको ठाँटिकाँध जाँदै गरेको लु२च २२०७ नम्बरको जीप ठाँटिकाँध गाउँपालिका ३ डांग्रे भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा ठाटीकाँध गाउँपालिका–१ का ३० वर्षीय निर्मल बम, वडा नम्बर–२ का जीप चालक रमेश शाही, वडा नम्बर–४ की रत्ना शाही र राजेन्द्रबहादुर शाहीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए । बास्कोटाका अनुसार दुई जनाको घटनास्थलमै र दुई जनाको उपचारको लागि सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

निजी जीप ठााटिकाँध पुग्नुभन्दा करिब एक(दुई किलोमिटर बाँकी छँदा दुर्घटनामा परेको हो । जीप कच्ची सडकबाट करिब २ सय मिटर तल भीरमा खसेको छ । जीप टुक्रा–टुक्रा भएको छ । दुर्घटनाको कारण खुलेको छैन । दुर्घटनामा घाइते भएका चारै जनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि सुर्खेत पठाइएको छ ।