जीप दुर्घटनामा तीन जनाको मृत्यु

बेनी, माघ २८ ।
बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आइतबार दिउँसो भएको बोलेरो जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा परी बेपत्ता भएकी रघुगंगा गाउँपालिका–१ की लिमाया पुर्जा मृत फेला परेपछि दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको हो । उनलाई दुर्घटनास्थलदेखि करिब एक किलोमिटर तल राहुपारे नजिकैको झोलुंगे पुल छेउको कालीगण्डकी किनारमा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शिवप्रसाद पाठकले जानकारी दिए ।
ग १ ज ५७६० नम्बरको बोलेरो सडकबाट करिब १०० मिटर तल कालिगण्डकी नदीको किनारमा खसेर दुर्घटना भएको हो । पोखरादेखि बेग जाँदै गरेको सो जिपमा चालकसहित पाँच जना सवार थिए ।