जीप दुर्घटनामा डिआइजी र पत्रकारसहित ३ को मृत्यु

काभ्रे, कार्तिक १० ।
काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ ढकालथोकमा आज दिउँसो जीप दुर्घटना हुँदा पत्रकार जीवन पराजुलीसहित दुइजनाको घटनास्थलमै र डिआइजी सुशील भण्डारीको उपचारको क्रममा मृत्यु भएको छ । सोही दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् ।

हेलम्बु राजमार्ग अन्तर्गत ढकालथोकमा बा ३ च २८७ नम्बरको ल्याण्डक्रुजर जीप सडकबाट पाँचसय मिटर तल खस्दा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुशील भण्डारी, धुलिखेलस्थित रेडियो गौरवका स्टेशन मेनेजर मण्डन देउपुर नगरपालिका ४ का २५ वर्षीय जीवन पराजुली र नमोबुद्ध नगरपालिका १० का ४४ वर्षीय विनोद कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए ।

डिआइजी भन्डारी हेड्क्वाटरको अन्वेषण शाखामा कार्यरत थिए । उनी आइजिपी सर्बेन्द्र खनालका ब्याची हुन् । दुर्घटनामा पनौतीका प्रदीप बोगटी, धनराज पुरी र विनोद गौतम घाइते भएका छन् । घाइतेलाई धुुलिखेल अस्पतालमा उपचार गराइएको प्रहरीले जनाएको छ ।