जातिय संस्थाको प्रदेश बन्दमा नयाँशक्ति सहित राजनीतिक दलको समर्थन

पोखरा, असार २४ ।
प्रदेशको नाम जातिय पहिचानमा नराखेको भन्दै विरोध स्वरुप तमुवान–मगरात संघर्ष समितिले आयोजना गरेको गण्डकी प्रदेश बन्दलाई नयाँ शक्ति सहितका राजनीतिक पार्टीहरुले पनि ऐक्यवद्धता जनाएका छन् । नयाँ शक्ति सहित संघीय समाजवादी फोरम र देशभक्त जनतान्त्रिक मोर्चाले बन्दलाई समर्थन जनाएका हुन् ।

आईतबार संयुक्त प्रेस विज्ञप्ती जारी गरी पहिचानको पक्षमा जस्तो आन्दोलन परेपनि समर्थन गर्ने उनीहरुको प्रतिबद्धता छ । लामो समयदेखि थिचोमिचोमा परेका जातिय समुदायलाई पाखा लगाएर पूरानै राज्यसत्ता फर्काउने बाटोमा संघीयता लागेको भन्दै त्यसको विरोध पनि उनीहरुले गरेका छन् ।

नयाँशक्तिले त सदनबाटै प्रदेश नामाकरण भएको दिन असार २२ लाई कालोदिनको रुपमा घोषणा गरेको छ । पहिचानको मुद्धामा सरकार गम्भीर नभएको भन्दै निरन्तर आन्दोलन र संघर्षका कार्यक्रम गरिरहने जातिय संघ संस्थाले जनाएका छन् ।

आइतबार जातिय कोटाबाट सदनमा पुगेका सांसद सहित गण्डकी प्रदेशको सांकेतिक रुपमा दाहसंस्कार गरेका उनीहरुले असार २५ गते गण्डकी प्रदेश बन्द गर्ने घोषणा गरेका छन् । त्यसपछि पनि माग सुनुवाई नभए थप संघर्षका कार्यक्रम घोषणा गरिने तमुवान–मगरात संघर्ष समितिका प्रबक्ता हुम गुरुङले बताए ।