जागिरबाट निकालिएका विष्ट भन्छन्–म अन्यायमा परें, अब अदालत जान्छु

काठमाण्डौं, कार्तिक ८ ।
गृह मन्त्रालयले सेवाबाट बर्खास्त गर्ने निर्णय गरेपछि कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट अदालत जाने बताएका छन् । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रभावकारी कार्य सम्पादन तथा अनुसन्धान नगरेको भन्दै मन्त्रालयले विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गरेपछि विष्टले यस्तो बताएका हुन् । भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी उनीहरुलाई बर्खास्त गरिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

गृहको निर्णयपछि संक्षिप्त कुराकानी गर्दै विष्टले विष्टले भने, ’म अहिले परामर्शका क्रममा छु । कानुनी प्रक्रियाका लागि अदालत जाने कुरा त भइहाल्यो नि ।’ बालिका पन्तको हत्याको अनुसन्धानमा गम्भीर लापरबाही गरेको र घटनाको प्रमाण नष्ट गरेको सम्बन्धमा उनीहरु दुबैलाई स्पष्टीकरण सोधिएको थियो ।

गत साउन १० गते साथीको घरबाट स्कुलको गृहकार्य सकेर घर जाँदै गरेकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो । आधा दर्जनभन्दा बढी प्रहरी टोलीले घटनाको छानबिन गरे पनि परिणाम शून्य भएको अवस्थामा सरकारले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख विष्टलाई बर्खास्त गरेको हो ।