जसपाले माग्यो ७ मन्त्री र एक राज्यमन्त्री

पोखरा, साउन ३ ।
जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष उपेन्द्र यादव पक्षले सरकारसँग ७ मन्त्री र १ राज्यमन्त्री माग गरेको छ । उपेन्द्र समूहको संसदीय दलको बैठकले देउवा सरकारमा सहभागी दलहरुबीच समान हैसियतामा मन्त्रालय बाँडफाँट हुनुपर्ने माग राखेको हो ।

यादव समूहको बैठकमा नेताहरुले सरकारमा जति दल सहभागी भए पनि समान हैसियतमा मन्त्रालय बाँडफाँट हुनुपर्ने धारणा राखेका हुन् । नयाँ सरकारमा हाल नेपाली कांग्रेसका दुई र नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री बनेका छन् ।

जसपा सरकारमा गैसकेको छैन । राजमो पार्टी भने सरकारमा सहभागी नहुने सार्वजनिक अभिव्यक्ति दिएको छ । सरकारमा सामेल हुने तीनै दलबीच मन्त्रालय बाँडफाँट समान हुनुपर्ने जसपा नेताहरुको माग छ ।

तीन दलबीच एक दलको भागमा ७ मन्त्री पर्ने हुन्छ । र, जसपाको यादव समूहका नेताहरुले बैठकमा देउवा सरकारसँग ७ मन्त्रीसहित एक थान राज्यमन्त्री माग्नुपर्ने भनेका छन् ।