जलवायुमा काम गर्ने संस्था अपारदर्शी

पोखरा, जेठ ७ ।

कास्कीभित्र जलवायुको क्षेत्रमा काम गर्ने संस्थाहरुको बजेट अपारदर्शी भएको एक अध्ययनले देखाएको छ । ट्रान्सपरेन्सी नेपाल अन्तर्गत सुशासनका लागि नागरिक समाज कास्कीले तयार गरेको प्रतिबेदनका अनुसार जलवायु परिवर्तनका क्षेत्रमा काम गरिरहेका संस्थाहरुले सम्बन्धित निकायमा आफ्नो खर्च विवरण पारदशी गर्न सकेका छैनन् । स्थानीय समुदायलाई कार्यान्वयन गर्ने सहयोगी संस्थाले केही जानकारी गराएपनि जिल्ला र केन्द्र तहमा जानकारी दिने छलफल र बैठकको अभ्यास नभएको उल्लेख गरिएको छ । यस्ता संस्थाहरुले सरोकारवालाको गुनासो नसुन्ने र कमीकमजोरी पनि खोज्दैनन् । तर केयर नेपालले भने अरु भन्दा केही सुधारिएको सेवा गरेको प्रतिवेदनमा उल्लेख छ ।

जलवायुमा काम गर्ने संस्थाहरुले सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण तथा सार्वजनिक परीक्षण पनि गरेका छैनन् । जसका कारण उनीहरुको काममा विश्वासनीयता नभएको प्रतिवेदनको आसय छ । ‘जलवायुको क्षेत्रमा गरिएको लगानीको उपलब्धी मापन गर्न निकै कठिन छ । धेरै कार्यक्रममा दोहोरोपना जलवायुको क्षेत्रमा गरिएको लगानीको उपलब्धी मापन गर्न निकै कठिन छ । धेरै कार्यक्रममा दोहोरोपना देखियो, प्रतिवेदनमा भनिएको छ–यस क्षेत्रमा काम गर्ने संस्थाले विश्वासनीयता गुम्न नदिन नियमित छलफल र जनगुनासो सुन्ने परिपाटि थाल्नुपर्छ ।’

प्रतिवेदन अनुसार जलवायु परिर्वतनमा काम गरिरहेका संस्थाको खर्च अधिकांश प्रशासनिक क्षेत्रमा छ । कार्यक्रम खर्च भन्दा प्रशासनिक खर्च बढी रहेको अनुसन्धानकर्ता तथा उपप्राध्यापक पवित्रा झाले जानकारी दिईन् । कास्कीमा डब्लु डब्लु एफ, केयर, एनटिएनसी र सामुदायिक वन उपभोक्ता महासंघले जलवायु अनुकुलनका क्षेत्रमा हरियो वन कार्यक्रमसँग मिलेर काम गरिरहेका छन् । सुनास कास्कीका अध्यक्ष सुन्दर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक भानु पराजुलिले गरेका थिए ।