जनप्रतिनिधिकै घर भत्कायो पोखरा महानगरले

पोखरा, पुस २३ ।
पोखरा महानगरपालिकाले आफ्नै जनप्रतिनिधिले अबैध रुपमा बनाएको घर भत्काएको छ । पोखरा ४ कि वडा सदस्य बिष्णुमाया परियारले सार्वजनिक जग्गा हडपेर बनाएको घर सोमबार भत्काईएको हो । परियारले फिर्के खोलाको मापदण्ड समेत मिचेकी महानगरले जनाएको छ ।

घर भत्काउन नदिन वडा सदस्य परियारले डोजरलाई छेकेपछि नगर प्रहरी र नेपाल प्रहरीले नियन्त्रणमा लिएपछि घर भत्काइएको थियो । उनको घरले नेपाल स्काउटको केहि अंश जग्गा पनि हडपेको बताईएको छ । स्काउटले आफ्नो जग्गा मिचेको भन्दै वडा कार्यालय, महानगर र अख्तियारमा पनि उजुरी दिएको थियो ।

वडा कार्यालयले पहिले नै सचेत गराईसकेको थियो । ‘फिल्डमै पुगेर हामीले सचेत गराएका हौं । धेरै तिरबाट उजुरी आएपछि महानगरमा फरवार्ड गरिएको थियो, वडाध्यक्ष शंकर बास्तोला भन्छन्–महानगरले निर्णय गरेर घर भत्काएको हो ।’ वडाध्यक्ष बास्तोलाले मापदण्ड छोडेर घर बनाउन सुझाव दिएको बताए । महानगरले पनि धेरै पटक घर नबनाउन पत्राचार गरेको थियो ।

परियारले चाहीँ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीसँगै सल्लाह गरेर घर बनाएको दावी गरेकी छिन् । डोजरले भत्काएको घरमा बस्न मिल्दैन । परियारका अनुसार घर बनाउन हालसम्म ९ लाख रुपैयाँ खर्च भैसकेको छ । उनले नमूना महिला समूहबाट १५ लाख रुपैयाँ ऋण लिएर घर बनाउन शुरु गरेको बताईन् ।

सोमबार नै पोखरा ५ धारापानीका भरत लिगल र बुलौंदी खोलाको मापदण्डमा पर्ने जमुना क्षेत्रीको घर पनि भत्काएको छ । सबैतिर अभियानको रुपमा मापदण्ड कार्यान्वयन गराउने मेयर मानबहादुर जिसीले बताए । ‘मापदण्ड भित्र पर्छ नक्सा नबनाई घर नबनाउनु भनेको थिएँ । निर्वाचित जनप्रतिनिधिले नै मनपरि गरेपछि जनताले के गर्ने, उनले भने–धेरै पटक पत्र पठाएका हौं । नटेरेपछि डोजर लगाउन बाध्य भयौं ।’