जनताले बलियो प्रतिपक्षी खोजेका छन्ः पौडेल

पोखरा, कार्तिक २२ ।
कास्की २ मा काँग्रेसका उम्मेदवार खेमराज पौडेलले जनताले बलियो प्रतिपक्षी खोजेका कारण आफुले चुनाव जित्ने दावी गरेका छन् । मनोनयनपछि पत्रकारहरुसँग कुरा गर्दै उनले यो चुनावले सरकार ढाल्ने भन्दा पनि सरकारलाई सवक सिकाउने गरी जनताले मतदान गर्ने बताए ।

‘सरकारले जुन किसिमको गल्ती गरिरहेको छ, एउटा चुनावले यो सरकार ढल्ने होईन । हामी ढाल्न पनि चाहादैनौं । राजनीतिक अस्थिरता ल्याउने काम हामी गर्दैनौं । सरकार आफै आफ्नै कारणले देशमा राजनीतिक स्थिरता आउन सकेको छैन । तिनै क्रियाकलाप गरेका कारण जनताले बलियो प्रतिपक्षी खोजेका छन्,’ उनले भने, ‘जनतासँग सरकारले गरेको प्र्रतिज्ञा पूरा गर्न सकेन । उनीहरुलाई सवक सिकाएर देशलाई सही दिशामा हिडाउने काम यो चुनावले गर्छ ।’

यसअघिको गल्ती सुधारेर चुनाव जित्नुको विकल्प नरहेको उनको भनाई छ । ‘म एउटा निमित्त मात्र हुँ । साथीहरुले मेरो बारेमा धेरै कुरा गर्नुभयो । कांग्रेसले मलाई सिपाहीका रुपमा उठाएको छ,’ उनले भने, ‘जनताको उपस्थितीलाई सहि शक्ति बनाएर अगाडि बढ्नेछौं । हामी एकमत हौं । गल्ती गर्नाले जुन धोखा पायौं, मुलुकले धोका पायो । राष्ट्रिय अन्तराष्ट्रिय शक्ति सशंकित भईराखेका छन् । यसलाई दुर गर्न पनि काँग्रेसले जित्नुपर्छ ।’

अहिले पार्टीमा कुनैपनि गुटबन्दी नरहेको भन्दै आफ्नो जीत निश्चित भएको उनले सुनाए । ‘कास्कीमा कुनै खालको ग्रुप नै हुँदैन । सबै एकै भएर आएका छौं, उनी भन्छन्, साथीहरु हिजोसम्म कल्ले पाउने भन्नेमा थियौं । आज गला मिलाएर आएका छौं । नेताहरु पनि विभिन्न नाममा थिए । अहिले एकैै छन् । जनताले पनि एकै हुनु भनेर हप्काउछन् ।’