जनताको मत भ्रष्टाचारको लाईसेन्स होईन–काँग्रेस नेता चालिसे

पोखरा, मंसिर १७ ।
नेपाली काँग्रेसका नेता देवराज चालिसेले जनप्रतिनिधी जनताप्रति उत्तरदायी हुन नसकेको बताएका छन् । चुनावी प्रचारका लागि घरदैलोमा रहेका उनले चुनावका बेला जनतालाई आश्वासन बाँड्ने तर जितेपछि जनताको दैलोमा फर्केर नहेर्ने प्रतिनिधीकै कारण विकासले गति लिन नसकेको बताए । ‘मतदाताको विश्वास हुन्छ, आफ्ना प्रतिनिधी नैतिक होस् । कुनैपनि गलत काममा नलागोस् भन्ने, उनी भन्छन्–तर तिनै प्रतिनिधी चुनावपछि विभिन्न भ्रष्टाचारको काण्डमा मुछिँदा जनताको मतको कदर हुँदैन । जनताको मत भ्रष्टाचार गर्ने लाईसेन्स होईन भन्ने सबैमा हेक्का हुनुपर्छ ।’ उनले आफ्नो ठाउँबाट केही गर्न नसक्ने तर नियमित सरकारका कार्यक्रमलाई आँफैले गरेको भनेर प्रचार गर्नु जनताप्रति घात भएको टिप्पणी गरे ।
‘नाली पनि आँफैले बनाएँ भन्ने । ग्याभिन पनि आँफैले भरें भन्ने तर सिन्को नभाँच्ने नेतृत्व विकासको बाधक हुन्, उनी भन्छन्–नेताहरुले अव अस्पतालमा अपरेसन पनि आँफैले गरेको भनेर प्रचार गर्न मात्रै बाँकी छ । यसरी देशको समृद्धी सम्भव छैन ।’ नैतिकता र राजनीतिक मर्यादा आँफैबाट सुरु गर्नुपर्ने भन्दै उनले सरकारबाट प्राप्त सेवा सुविधा सबै सडक बालबालिकाको क्षेत्रमा खर्च गर्ने दोहो¥याएका छन् । कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभाको उम्मेदवार चालिसे आँउदो चुनाव लोकतन्त्र र साम्यबादको जनमत संग्रह भएकाले जनताको मत लोकतन्त्रको पक्षमा हुने विश्वास ब्यक्त गर्छन् ।