जग्गा बाँझो राखे ३ लाख जरिवाना

काठमाण्डौं, माघ २ ।
सरकारले लगातार ३ वर्षभन्दा बढी जग्गा बाँझो राख्न नपाउने कानूनी व्यवस्था ल्याउन लागेको छ । संसद्मा सोमबार दर्ता गरिएको भूउपयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा तीन वर्षदेखि जग्गा बाँझो राख्ने जग्गाधनीलाई तीन लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ ।

यो विधेयकमाथि प्रतिनिधिसभामा एक साताभित्रै छलफल हुनेछ । विधेयक पारित भएपछि आफ्नो जग्गा बाँझो राख्नुपर्ने भए स्थानीय तहमा बाँझो राख्न पर्नाको कारण जानकारी दिनुपर्नेछ । ‘धेरै जग्गा हुने व्यक्ति जग्गा बाँझो राखेर अन्तै गएर बस्न थालेका छन्,’ भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपी मैनालीले भने, ‘यसले कृषि उत्पादनमा कमी आयो । भूउपयोग पनि पूर्ण रूपमा हुन सकेन ।

त्यसैले बाँझो राख्नेलाई कसुर गरेको मानिने व्यवस्था ल्याउनुपरेको हो।’ जग्गाको उपयोग होस् र उत्पादनशील क्षमतामा ह्रास नआओस् भनेर नयाँ व्यवस्था ल्याउन लागेको उनले बताए । व्यक्तिको नाममा रहेको ३ करोड कित्तामध्ये कति जग्गा बाँझै छ भन्ने सरकारसँग यकिन तथ्यांक छैन । भूमि वर्गीकरण, उपयोग र प्रभावकारी व्यवस्थापन गर्न सरकारले यो विधेयक ल्याएको जनाएको छ ।, कान्तिपुरमा खबर छ ।