छोरो लुकाएर श्रीमतिलाई भारत लैजान चलखेल, पोखराबाट पक्राउ परे शेख
पोखरा, साउन १२ ।
फेसबुकमा एकजना बालक हराएको पोष्ट आयो । त्यसपछि निरन्तर त्यो फोटे शेयर हुन थाल्यो । वरपर खोजी पनि भैरह्यो । पोखरा ७, शान्तिनगरचोक बस्ने साहिल नाम गरेको ८ वर्षको बालक बिहान ८ बजेबाट हराएको भन्दै फोटो सहित शेयर भए । तर, ति बालक हराएको नभई आफ्नै बुबाले अन्तै लगेर लुकाएको खुलासा भएको छ । श्रीमती भारतको बिहार स्थित घर जान नमानेपछि छोरालाई भाइको साथ घर पठाई श्रीमती लैजान खोज्ने रमु शेख प्रहरी नियन्त्रणमा छन ् ।
यसअघि, पोखरामै रामबजार बसी व्यवसाय गर्ने रमेश नेपालीले आफ्नी श्रीमती लक्ष्मी नेपालीलाई मार्न लगाइसकेपछि पनि श्रीमती हराएको भन्दै रुँदै मिडिया र प्रहरी गुहारेका थिए । ठीक यस्तै गरी, शेख आफै छोरो हराएको भन्दै रुँदै खोज्दै हिँड्ने नाटक गरेका थिए । शेखले आफ्नी श्रीमतीलाई भारत लैजान पहिला छोरा पठाउने, त्यसपछि श्रीमती लैजाने योजना बमोजिम यो तरिका रचेको आफन्तले बताए । बालककी आमा रिया परियारले घटनाबारे विस्तृत रुपमा खुलासा गरेकी छिन् ।
घटना विवरणः
पोखरामा बसेर मजदुरी काम गर्ने रमु शेखसँग कास्की पामेकी रिया परियारले १३ वर्ष अघि नै बिहे गरिन् । त्यसपछि शेखले रियालाई भारतको विहारस्थित घर लगे । ५ वर्षपछि जेठो छोरो साहिल जन्मियो । बिहारस्थित घरमा बस्न सक्ने अवस्थै थिएन । उनलाई साह्रै दुःख भयो, परिवारका कसैले माया गर्दैनथे । त्यसपछि कान्छो छोरो सानु पेटमै हुँदा रिया पोखरा नै फर्किन् । कान्छो छोरो नै ६ वर्षको भईसक्यो । रिया घर जान नमान्ने, शेख सँगै राख्नै नमान्ने भएपछि श्रीमान् श्रीमतीबीचको सम्बन्ध बिग्रिएको धेरै भयो । दुई छोरा आफ्नै साथमा भए सम्बन्ध विच्छेद गर्न पनि आफू तयार रहेको रियाको भनाई छ । तर, श्रीमान् श्रीमती शान्तिनगर स्थित एउटै डेरामा बस्दै आएका छन् ।
शुक्रबार रियाले बिहानै खाजा बनाईन् । छोराहरुलाई खुवाईन् । छोराहरु पढ्ने रत्नज्योतिमा रिजल्ट थियो । तर रिया गईनन् । साहिल पढाएको फि समेत नबुझाएकाले रियाले जान मन गरिनन् । तर साहिल गायब भए । बेलुकासम्म छोरा नफर्किएपछि रियाको होसहवास् उड्यो । त्यसपछि उनी खोज्न थालिन् । श्रीमान् पनि सँगै खोज्न हिँडे । रोए जस्तो पनि गरे । लेकसाईड पुरै खोजे तर पत्तो लागेन । घरमा राति आएपछि श्रीमान् निदाउन थाले । रियालाई शंका लाग्यो । आफन्तहरुसँग पनि कुरा गरिन् । छोरो हराएको एउटा बाउ कसरी निदाउन सक्छ ? रियाको मनमा यस्तै लाग्यो । त्यसपछि रियाले प्रहरी कार्यालय बैदाम र जिल्लामा समेत जानकारी गराईन् । फेसबुकमा पनि पोष्ट गरिन् । प्रहरीले खोज्न सघायो । प्रहरीकहाँ छोरो हराएको खबर पुगेपछि शेखले १ घण्टाभित्रै छोरा पाएको जानकारी गराए ।
प्रहरीले कसरी १ घण्टाभित्रै पायो ? भनेर सोधपुछ गरेपछि तनहुँ दुलेगौंडा स्थित आफ्नो भाइको कोठामा लगेर छाडेको उनले बयान दिए । ३५ वर्षीय शेख प्रहरी नियन्त्रणमा छन् । शेखले साहिललाई आफै गएको भनेर झुटो बोल्न पनि सिकाएका रहेछन् तर साहिलले आमालाई सबै कुरा खोले । रियाले परिवारमा २ लाख जति ऋण रहेकाले त्यो ऋण तिर्न पनि ऋण दिनेहरुले पुलिसकहाँ राख्नुहुँदैन भनेर सुझाएको खुलाईन् ।
श्रीमतीलाई मानसिक दबाब दिन छोरोलाई पहिले घर पठाउने रणनीति अनुरुप बेपत्ता बनाएका शेखलाई कस्तो कारबाही हुने प्रहरीले केही बताएको छैन । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले नियन्त्रणमा रहेको पुष्टि गर्दै सोधपुछ गर्ने काम भने बाँकी नै रहेको जनाए ।
छोरालाई आफैले लुकाएको भन्ने कुरा आयो । अहिले उनी हाम्रो नियन्त्रणमा छन् । केही बुझ्न पाएका छैनौं । बुझेपछि के गर्ने भन्ने टुंगो लाग्नेछ । डिएसपी केसीले भने । रिया भने शेखसँग सँगै बस्न नसक्ने मनिस्थितिमा पुगिसकेको उनले बताईन् । गण्डक न्यूजमा खवर छ ।