छोटी भन्सारमा सुरक्षा ब्यवस्था मिलाईदिन गण्डकी सरकारको माग

पोखरा, माघ २२ ।
गण्डकी प्रदेशको दक्षिणी सिमानामा रहेको छोटी भन्सारमा सुरक्षा प्रबन्ध मिलाईदिन गण्डकी सरकारले नेपाल सरकारसँग आग्रह गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद् बैठकबाटै आवश्यक सुरक्षा ब्यवस्थाका लागि केन्द्र सरकारसँग माग गर्ने निर्णय गरिएको हो । ‘भन्सार खुलाउन पहिले नै आग्रह गरिसकेका छौं । त्यसको कुनै प्रतिक्रिया आएको छैन, सरकारका प्रबक्ता रामशरण बस्नेतले भने–तत्कालका लागि त्यस क्षेत्रको सुरक्षा र केही आवश्यक कर्मचारी ब्यवस्था गरिदिन माग गरेका छौं ।’

गण्डकी प्रदेशको प्रदेश मामिला समितिले पुस ६ गते दक्षिणी नाकाको भ्रमण गरेको थियो । सोही समितिको प्रतिबेदनका आधारमा इलाका स्तरीय जनपथ र सशस्त्रको युनिट ब्यवस्था गरिदिन सरकारले माग गरेको हो । सरकारले प्रहरी र कर्मचारीको संख्या भने तोकेको छैन । यो भन्सारमा अहिले सामान्य आवातजावत भएपनि ब्यापारिक हिसावले माल सामान आयात निर्यात गर्ने र भन्सार उठाउने काम भएको छैन ।

यसैबीच, प्रदेश सरकार गठन भएको १ बर्ष पुगेको अवसरमा सरकारले विशेष कार्यक्रम सहित फागुन ३ गते बार्षिकोत्सव मनाउने भएको छ । यसका लागि अर्थमन्त्री किरण गुरुङको संयोजकत्वमा ५ सदस्यीय कार्यक्रम आयोजक समिति गठन गरिएको छ । त्यस दिन उत्कृष्ट कर्मचारी सम्मान सहित अन्य विविध कार्यक्रम गरिने प्रबक्ता बस्नेतले बताए ।

बैठकले सरकारको खर्च मापदण्ड निर्देशिका समेत स्विकृत गरेको छ । योसँगै अव सरकार र मातहतका निकायले खर्च गर्दा कुन कार्यक्रममा कति खर्च गर्ने स्पष्ट खाका तयार भएको छ । प्रदेश विकास स्वयंसेवक परिचालन कार्यविधि पनि पारित भएको छ ।

सरकारले प्रदेशभित्रका ११ वटै जिल्लामा १ सय ३६ जना स्वयंसेवक परिचालन गर्न पाउनेछ । तर यसका लागि सरकारसँग माग गर्नुपर्छ । ‘डिमाण्डका आधारमा स्वयंसेवक परिचालन गर्ने हो । उनीहरुले तलव समेत पाउँछन्, बस्नेतले भने–जिल्ला अनुसार कोटा फरक छ । यस्ता स्वयंसेवक बढीमा २ बर्षका लागि नियुक्त हुन्छन् ।’