छिमेकीको गोठमा मृत फेला परिन् उर्मिला, गर्भवती धनसराको शव झुण्डिएको अवस्थामा

अछाम, वैशाख १९ ।

अछाममा दुई महिलाको शव फेला परेको छ । एक महिला आफ्नै छिमेकीको गोठमा मृत फेला परेकी छन् भने गर्भवती रहेकी अर्की महिलाको शव झुण्डिएको अवस्थामा घर नजिकै फेला परेको हो । पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाडाकी २२ वर्षीया उर्मिला टमाट्टाको शव उनकै छिमेकीको गोठमा भेटिएको छ । आईतबार घरबाट आफन्तको घरमा जाने भनेर निस्किएकी उर्मिला छिमेकी कै गोठमा मृत फेला परेकी हुन् । आफन्तको घरमा नपुगेको खबरपछि उनको खोजी गर्दा शव भेटिएको अछाम प्रहरी प्रमुख डिएसपी दधिराम न्यौपानेले बताए ।

प्रहरीका अनुसार उनको शव नजिकै मुसा मार्न प्रयोग गरिने बिष फेला परेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि स्थानीय एक युवकलाई नियन्त्रणमा लिएको छ । त्यस्तै, तुर्माखाद गाउँपालिका–३ भैरवस्थानमा २३ वर्षीया धनसरा नेपालीको शव झुण्डिएको अवस्थामा फेला परेको छ । मंगलबार विहान ५ बजे घरबाट हिँडेकी उनी ३०० मिटर टाढा झुण्डिएको अवस्थामा भेटिएको अछाम प्रहरीले जनाएको छ । स्थानीयका अनुसार धनसरा गर्भवती हुनुका साथै उनकी अढाइ वर्षीया छोरीसमेत छिन् । प्रहरीले दुवै महिलाको शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम मंगलसेन ल्याएको छ ।