चौरासी पूजामा मोटरसाइकलको ताण्डव, १ को ज्यान गयो, ९ घाइते

नवलपरासी, वैशाख १८ ।

चौरासी पूजामा सहभागीलाई अनियन्त्रित मोटरसाइकलले अन्धाधुन्ध ठक्कर दिँदा नवलपरासीमा १ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन् । जिल्लाको मध्यविन्दु–१, चिसापानीमा ना १६ प ९९९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मध्यविन्दु–१ गुडचरी निवासी ७० वर्षीय कमल काफ्लेको निधन भएको हो । प्रहरीले मादक पदार्थ सेवन गरेका राजेश बोहोराले चलाएको मोटरसाइकल अनियन्त्रित भएर चौरासी पूजामा बत्तिँदा १ मृत्यु र ९ जना घाइते भएको जानकारी दिएको छ ।

पृथबहादुर केसीको चौरासी पूजा सकेर नजिकैको दुर्गा मन्दिर परिक्रमा गराउने क्रममा बोहराले चलाएको मोटरसाइकलले सहभागीलाई सोहोर्दै घाइते बनाएको हो । घाइतेमध्ये २ जनाको अवस्था अझै गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, नवलपुरले जनाएको छ । उनीहरुको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको छ । चालक बोहोरा भने सामान्य घाइते भएका छन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।