चुनावी तालमेल सत्ताका लागि मात्रै–भट्टराई

ल्वाङ (कास्की), पुस २० ।

नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले चुनाव अघिका तालमेल सत्ताका लागि मात्रै भएको बताएका छन् । वाम गठबन्धनतर्फ इंगित गर्दै उनले चुनावी गठबन्धन नेपालका लागि नयाँ प्रयोग भएपनि गन्तब्य खासै फरक नभएको बताए । विहिबार कास्कीको ल्वाङमा पत्रकारहरुसँग कुरा गर्दैे पछिल्ला घटनाक्रमले चुनावी तालमेल सत्ता प्राप्तिका लागि मात्रै भएको संकेत गरिरहेको भट्टराईको बुझाई छ । ‘चुनाव पूर्वको तालमेल नेपालका लागि विल्कुल नयाँ हो । टिकाउ हुने नहुने भविष्यले निर्धारित गर्छ, उनले भने–केही सातायताको घटनाक्रमले सत्ताकै खेलको एउटा अंगजस्तो देखिन्छ । तर अहिले नै टिप्पणी गर्दा अलि हतार होला ।’

अहिलेको राजनीतिले गुणात्मक सुधार नल्याउने भन्दै उनको टिप्पणी छ । ‘एक्लैएक्लै आफ्नो अस्थित्व र बर्चस्व कायम राख्न पूराना शक्तिहरुलाई अप्ठेरो थियो । त्यसैले यस्तो गठबन्धन बनाउने र चुनावी बहुमत हासिल गरेर सत्तामा जाने उनीहरुको दाउ हो, भट्टराई भन्छन्–राजनीतिलाई पूरानै दुष्चक्रमा पारेर चुनावमा खर्च भएको करोडौं अरबौं रुपैयाँ ठेक्कापट्टाबाट उठाउने जुन धन्दा छ, अहिलेको राजनीतिमा पनि त्यही दोहोरिने बाहेक फरक हुन्छ जस्तो लाग्दैन ।’

उनले नयाँ शक्ति पार्टीको औचित्य नघटेको दावी गर्दै अझै प्रभावकारी र जनमुखी भएर योजना तथा कार्यक्रम बनाउने प्रतिबद्धता जनाए । ‘फागुनमा ५ बर्षका लागि कार्यक्रम तय गर्छौं । खासगरी पार्टी विस्तार र सुदृढीकरणमा हाम्रो जोड रहन्छ, उनले भने–त्यसपछि राष्ट्रिय र सामाजिक मुद्धाहरु लिएर जनतामा जान्छौं र चुनावको तयारी गरेर ५ बर्षमा शसक्त शक्तिको रुपमा स्थापित गर्छौं ।’ संसदमा पनि नयाँ शक्ति अलग्गै हिसावले उपस्थित हुने उनको भनाई छ । ‘सरकार जसको बन्छ सकारात्मक ढंगले आलोचनात्मक विरोध गर्छौं । विरोधका लागि विरोध र अन्धसहयोग हामी गर्दैनौं, भट्टराईले भने–संविधानका आधारभुत अन्तरबस्तु, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समाबेशी लोकतन्त्र त्यसमा दृढ रहेका शक्तिहरुसँग मुद्धामा आधारित सहकार्य हुन्छ । तर नयाँ शक्ति पार्टीको चाहीँ अलग्गै एउटा स्वतन्त्र धार र पहिचान सहितको पार्टी बनाउन हामी लाग्छौं ।’