चीन र भारतले रेल ल्याएर नेपाल समृद्ध हुँदैन–अर्थमन्त्री

पोखरा, जेठ १४ ।
प्रदेश ४ का अर्थमन्त्री किरण गुरुङले अनुदानका भरमा देश समृद्ध नहुने बताएका छन् । नेपाल समाजशास्त्र संघले पोखरामा आयोजना गरेको समाजशास्त्रीय दृष्टीकोणमा समृद्धी बहसलाई सम्बोधन गर्दै गुरुङले छिमेकीको अनुदानले देशको आवश्यक्ता पूरा हुन नसक्ने बताए ।

‘हामी चीनले रेल ल्याईदेला । भारतले फाष्ट ट्रयाक बनाईदेला भनेर बस्नुहुँदैन, उनले भने–मागेको धनले देश समृद्ध हुँदैन । आँफै लगानी गर्न सक्ने अवस्था तयार गर्नुपर्छ ।’ मन्त्री गुरुङले लगानीमैत्री वातावरण सिर्जना गरेर निजी क्षेत्रलाई लगानी गर्न आकर्षित गर्ने कार्यक्रम तय गर्नुपर्ने बताए । उनले सरकार निजी क्षेत्रलाई भित्र्याएर रोजगारी सिर्जना गर्नेतर्फ निरन्तर लागिरहेको बताएका छन् । हरेक फोरममा समृद्धीको बहस चलेपनि यथार्थमा समृद्धीका बिषयमा गहन चिन्तन नभएको उनको भनाई छ ।