चिप्ली तमू समाजमा ल्होसारको शुभकामना

पोखरा, पुस ९ ।
साविक सिल्दुजुरे गाविसको चिप्ली घर भई पोखरा बसोबास गर्दै आएका गुरुङ समुदायले ल्होसारको शुभकामना आदानप्रदान गरेका छन् । शनिवार विशेष कार्यक्रम गरी शुभकामना साटासाट गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथि कास्की क्षेत्र नम्बर २ प्रदेशसभा (ख) का सांसद विन्दुकुमार थापाले गुरुङ समुदाय सामाजिक सहिष्णुताका पर्याय भएकाले अरु जातिले पनि उनीहरुबाट सिक्नुपर्ने बताए । ‘धर्म, भाषा, संस्कार, संस्कृति आफ्नै भएकाले यहाँहरु फरक पहिचानमा हुनुहुन्छ, उनले भने–यो प्रभाव अरु समुदायमा पनि पर्नुपर्छ र अरुले पनि यो संस्कार सिकुन् ।’ उनले चिप्ली समाजको विकास र प्रवद्र्धन गर्न आँफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । थापाले समाजघर निर्माणका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटाउने बताएका छन् ।
कार्यक्रममा काँग्रेस नेतृ सरस्वती गुरुङले तमु जातिलाई राष्ट्रको मुलधारमा ल्याउन आवश्यक रहेको बताईन् । ‘गुरुङ सहित आदिवासी जनजातिको समानुपातिक ब्यवस्था सरकारले गरिसकेको छ । अव राज्यमा सक्दो उपस्थिती हामीले पनि देखाउनुपर्छ, उनले भनिन्–समानुपातिक भन्दा पनि खुला हिसावले प्रतिनिधित्व गर्ने अवस्था सिर्जना होस् । हामी त्यतातर्फ अग्रसर हुनुपर्छ ।’ पूराना संस्कृतिको संरक्षण गर्दै स्तर विकासमा पनि ध्यान दिन उनको आग्रह छ । युवा समाजसेवी भीमकाजी गुरुङले बाध्यताले जन्मगाउँ छोडेपनि आफ्नो गाउँलाई नविर्सिन सुझाव दिए । उनले गुरुङ जातिहरुको विकास र उत्थानका लागि उनीहरुमा राजनीतिक चेत आवश्यक भएको बताए । संस्थाकी उपाध्यक्ष पार्वति गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विशाल गुरुङले गरेका थिए ।