चार वर्षमा मोदी चौथो पटक चीनमा ः के गर्दैछन् चीन–भारत ?

काठमाडौं, वैशाख १३ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो शुक्रबार र शनिबार चीन भ्रमण गर्दैछन् । चार वर्षमा चौथो पटक चीनको अनौपचारिक भ्रमणमा उड्न लागेका मोदीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग वुहान शहरमा ‘वान टु वान’ अर्थात एक्लाएक्लै भेटवार्ता गर्नेछन् । चीन र भारत सीमालगायत विषयमा मनमुटाव, विकास र आर्थिक वृद्धिमा प्रतिस्पर्धा अनि व्यापार र बजारमा साझेदारी गरिरहेका देश हुन् । यी दुई महारथीबीचको सम्बन्ध भूगोल, राजनीतिक, आर्थिक र सामरिक हिसाबले पनि दक्षिण एसियाली अरु देशका लागि चासोको विषय पनि हुन्छ । ‘वान टु वान’ वार्ता कुनै विशेष एजेण्डामा अर्को पक्षलाई मनाउन वा अनौपचारिक रुपमा कुराकानी गरी सहमतिको खोजीका लागि गरिन्छ । त्यसैले यो भ्रमण गएको वर्ष चीन भारत र भुटानको सीमा क्षेत्र दोक्लाममा दुई देशबीच उत्पन्न तनावलाई सुल्झाउन र चीनलाई खुशी पार्न भारतले गरेको पहलका रुपमा बुझिएको अन्तर्रा्ष्ट्रिय सम्बन्धका विश्लेषकको भनाई छ ।

खासगरी आफ्ना छिमेकी सबैजसो देशसँग भारतको हार्दिकतापूर्ण सम्बन्ध नरहेको अवस्थामा चीनले दक्षिण एसियामा आफ्नो उपस्थिती बढाउँदै लगेको छ । पाकिस्तानमा अर्बाैँ डलरका योजना सञ्चालन गरिरहेको चीनले नेपाल तथा माल्दिभ्समा बढाएको रुची भारतको ध्यान केन्द्रित गरेको विश्लेषण हुन थालेको छ । भारतीय प्रधानमन्त्री मोदी कुनै विशेष उद्देश्यबिना वा आफूलाई फाइदा नहुने हिसाबले विदेश भ्रमण गर्न रुचाउँदैनन् भन्ने पनि छ । त्यसैले आगामी जुन महिनामा सांघाई कोअपरेशन अर्गनाइजेशन सम्मेलनमा चीन जाने तालिका हुँदाहुँदै उनी त्यसअघि नै चीन पुग्न लागेका हुन् । यसमा केही विशेष उद्देश्य रहेको आँकलन हुनु अस्वाभाविक होइन ।

भारत ठूलो र तुलनात्मक रुपमा विकसित हुनुको नाताले मात्र होइन, सबैलाई आफ्नो प्रभुत्वमा राख्ने मनोविज्ञानबाट निर्दे्शित रहेको कुरा यो क्षेत्रमा उसको भूमिकाबाटै स्पष्ट हुन्छ । दक्षिण एसियाली हरेक देशको आन्तरिक मामिलामा उसले आफ्नो अनुकुलता खोज्ने गरेको छ । भलै, अहिले भारत भित्रैबाट पनि सरकारको यो परम्परागत सोचाइबारे प्रश्न उठाउन थालिएको छ । माइक्रो म्यानेजमेण्टमा ध्यान दिनुको साटो अर्को देशको स्वतन्त्रता र सार्वभौमिकता ख्याल गर्नुपर्ने तर्क बलियो गरि स्थापित हुँदैछ । तर चीनमा भारतको माइक्रोम्यानेजमेण्टले काम गर्दैन । विश्वब्यापी बजार र उत्पादनमा सहकार्यका लागि भारतलाई चीनसँग र चीनलाई पनि भारतसँग शत्रुता भन्दा पनि साझेदारी आवश्यक छ । यसै विषयमा दुई देशले आपसी समझदारी अझ बिग्रन नदिन प्रयत्न गर्नेछन् ।

कुनै राष्ट्रप्रमुख बिना निमन्त्रणा अन्य देशको भ्रमण गर्नुलाई कुटनीतिक वृत्तमा आफ्नो तर्फबाट गल्ती भएको स्वीकार्दै आपसी तिक्तता साम्य पार्न पहल गरिएको कदमका रुपमा बुझिन्छ । भारतीय प्रधानमन्त्री मोदी औपचारिक निमन्त्रणामै चीन गएर आपसी साझेदारीका लागि हात बढाउन खोजेको कदमका रुपमा बुझ्न सकिन्छ । केही समयअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान प्रधानमन्त्री केपी ओलीलाई सरकार हस्तान्तरण गर्नेताका भारतीय विदेशमन्त्री सुष्मा स्वराज निमन्त्रणाबिना नेपाल भ्रमणमा आउँदा पनि भारतले नेपालमा संविधान जारी भएको बखतदेखि देखाएको असन्तुष्टिप्रति उसले कुटनीतिक रुपमा गल्ती स्वीकारेको अर्थमा ब्याख्या गरिएको थियो ।

भारतले चीनसँगको सम्बन्ध सुधार गर्न चाहेको संकेत गएको मार्चमा दलाइ लामाको र्यालीमा रोक लगाएर पनि गरिसकेको थियो । दलाई लामाले गएको मार्चमा दिल्लीमा निर्वासनको ६० वर्षको अवसरमा आयोजना गर्न लागेर्को याली निषेध गरेको थियो । मोदीको अहिलेको भ्रमण पनि चीनको ‘वान बेल्ट वान रोड’ अभियानताका दोक्लाम क्षेत्रमा उठाएको विवाद र हस्तक्षेप असान्दर्भिक रहेको स्वीकार गर्दै त्यसबाट उत्पन्न तिक्ततालाई हटाउन आफ्नै तर्फबाट गरिएको पहलकदमीका रुपमा मान्न सकिन्छ ।