चार लेनको बन्दै पोखरा मुग्लीन सडक, एडिवीले २२ अर्व दिने

प्रकाश ढकाल
पोखरा, कार्तिक १५ ।
लामो समयको निरन्तर छलफल पछि एशियाली विकास बैंक एडीवी पोखरा मुग्लीन सडकमा ऋण लगानी गर्न सहमत भएको छ । ४ लेन सडकको डिजाईन भएको यो सडकमा एडीवीले १९ करोड ५० लाख अमेरिकी डलर अर्थात करिब २२ अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराउने समझदारी भएको छ । हाल दुई लेनको उक्त राजमार्गलाई चार लेनमा रुपान्तरण गर्न नेपाल सरकारले थप ५ अर्ब ९० करोड लगानी गर्नेछ ।

नेपालको आर्थिक विकासका लागि यो सडक स्तरोन्नती अपरिहार्य भएको एडीवीले जनाएको छ । भारत र बंगलादेशसँग नेपाललाई जोड्ने उपक्षेत्रीय करिडोरका रूपमा रहेको उक्त राजमार्ग विस्तार भएपछि सवारी आवागमनमा सहजता हुनुका साथै स्थानीय उत्पादन बजारसम्म पु¥याउन सजिलो मात्र नभई ढुवानी खर्चमा समेत कमी आउने एडीवीको विश्वास छ ।

८१ किलोमिटर पोखरा–आबुखैरेनी सडक पहिलो चरणमा विस्तार गरिनेछ भने आठ किलोमिटर आबुखैरनी–मुग्लिन खण्डमा त्यसपछि काम हुनेछ । पोखरादेखि आँबुखैरेनी सडक खण्डको डिजाईन समेत तयार भैसकेको छ । आँबुखैरेनीदेखि मुग्लीनसम्मको खण्ड निकै कठिन भएकोले फरक डिजाईन बनाउन लागिएको सडक बोर्डका तर्फबाट एडीबीका प्रोजेक्ट डाईरेक्टर दीपक श्रेष्ठले जानकारी दिए ।

एडिबीका अनुसार आगामी ५ बर्षभित्र यो राजमार्गलाई पूर्ण रुपमा स्तरोन्नती गरिसकिने छ । करिव ५ दशकअघि चीन सरकारको सहयोगमा निर्माण गरिएको यो सडक सामान्य टालटुल बाहेक अहिलेसम्म स्तरोन्नती भएको थिएन । शहरी क्षेत्रमा ६ लेन र अरु ठाउँमा ४ लेनको सडक बन्ने श्रेष्ठको भनाई छ । यसका लागि सडक बोर्डले राजमार्गको मापदण्ड अनुसार जग्गा अधिग्रहण गरिसकेको छ । दुवैतिर सर्भिस लेन, फुटपाथ सहित बजारी क्षेत्रमा ४२.५ मिटर चौडा र अरु ठाउँमा १८ मिटर फराकीलो बाटो बन्नेछ । ८८ किलोमिटर लामो सडकलाई दुई खण्डमा बाँडेर स्तरोन्नती गरिने उनले बताए ।

श्रेष्ठका अनुसार मुग्लीन–आँबुखैरेनी खण्डमा अहिले भैरहेको बाटो भन्दा फरक ट्रयाक बनाउने तयारी छ । ‘मुग्लीनबाट दुई लेनको सडक गोरखा छिराएर मस्र्याङदी पावर हाउस नजिक जोड्ने कि भन्ने हो । यसपछि ‘वान वे’ गाडी चल्छन्,’ उनले भने, ‘डिजानईन मै हामी भुलिरहेका छौं । विज्ञ टोलीले डिजाईन बनाईरहेको छ ।’

पूरा लम्बाईमध्ये ६६ किलोमिटर ४ लेनको सडक हुनेछ भने २२ किलोमिटर ६ लेनको बन्नेछ । यो सडक पूर्ण रुपमा स्तरोन्नती गर्न करिब २८ अर्व लाग्ने प्रारम्भीक अनुमान गरिएको छ । यसमध्ये ४ अर्व रुपैयाँ मादी र सेतीमा आकर्षक पुल बनाउन लगानी लाग्ने छ भने पहिलो चरणमा सडक स्तरोन्नतीमा ६ अर्व लाग्नेछ भने दोश्रो चरणमा ८ अर्व लाग्ने अनुमान छ ।

सडक विस्तारको क्रममा मापदण्डभित्र पर्ने करिब १ हजार घर टहरा हटाउनुपर्ने अध्ययनले देखाएको छ । यस्ता घर सबैभन्दा धेरै दमौलीदेखि खैरेनीटार खण्डमा छन् । यो खण्डमा मात्रै २ सय ६७ घर टहरा हटाउनुपर्ने छ भने खैरेनीटार–पोखरा क्षेत्रमा २ सय ५८, मुग्लिनदेखि डुम्रे खण्डका २ सय ३७ र डुम्रेदेखि दमौलीसम्मका ९८ घर टहरा भत्काउनुपर्ने अध्ययन रिपोर्टमा उल्लेख छ ।

उनीहरुलाई मुआब्जा दिएर हटाउने आयोजनाले जनाएको छ । १३ वटा बजारमा मापदण्डभित्र बढी घर छन् । आँबुखैरेनी, विमलनगर, डुम्रे, घाँसीकुवा, दमौली, खैरेनीटार, दुलेगौंडा, बेलचोतारा, गगनगौंडा, बिजयपुर, लेखनाथ, तालचोक र पोखराका घर टहराहरु हटाउनुपर्ने अध्ययन प्रतिवेदनमा छ ।

३ बर्ष निर्माण समय र पछिल्लो ५ बर्ष मर्मत गरी ८ बर्षको लागि ठेक्का सम्झौता हुने बताईएको छ । सडकमा करिब २७ लाख घनमिटर निर्माण सामग्री आवश्यक पर्छ । यो सामग्री कोत्रे, मादी र मस्र्याङदी नदी किनारबाट निकाल्ने प्रश्ताव गरिएको छ । ऋणको लागि सम्झौता भैसकेकोले केही समयभित्रै टेण्डर निकाल्ने तयारी छ ।

यो सडक खण्डमा साना ठूला ३९ वटा पुल बनाउनुपर्ने डिजाईन छ । साना ३१ र ठूला ८ वटा पुल बन्ने एडीबीका सिनियर प्रोजेक्ट म्यानेजर भुपेन्द्र भट्टले जानकारी दिए । यसबाहेक २ सय ३० वटा स्ल्याव कल्भर्ट र ६२ वटा पाईप कल्भर्ट बनाईने छ । धारापानी, खानीखोला, नालाखोला, बुल्दी खोला, म्याग्दे खोला, कुम्ले खोला, कोत्रे र बिजयपुरमा नयाँ पूल बनाईने छ ।

‘मादी र सेती नदीको पुल आकर्षक बन्नेछन् । यसका लागि मात्रै ४ अर्व लागत अनुमान गरिएको छ । विदेशी सहयोगमा बनाउनुपर्ने भएकोले अर्थ मन्त्रालयको सहमति चाहिन्छ,’ भट्ट भन्छन्, ‘यही पुलमा ओर्लिएर पर्यटकहरुलाई फोटो खिच्न मिल्ने बनाईन्छ ।’

मादीमा ४ लेनको नयाँ पुल बन्नेछ भने सेतीमा अहिले भैरहेको पुललाई सहयोग पुग्नेगरि थप २ लेनको पुल निर्माण हुनेछ । निर्माण सामग्री र वन क्षेत्रका कारण केही समस्या आउन सक्ने एडीवीले जनाएको छ । सडकको डिजाईन सन् २०१६ देखि क्यानेडियन कम्पनी एमएमएम ग्रुपले बनाएको हो ।

Photo-Durga Poudel