चार जिल्ला घुमाएर प्रसूति–यसरी जोगियो आमा र बच्चाको ज्यान

बागलुङ, साउन २९ ।
सुत्केरी व्यथाले च्यापेपछि बागलुङ–८ की सरस्वती जीसी शुक्रबार धौलागिरि अञ्चल अस्पताल पुगिन् । स्वास्थ्यकर्मीले चाररचार घण्टामा आउनु भनेर फर्काए । दिउँसो ४ बजे सामान्य अवस्था भनिए पनि बेलुकी ८ बजेदेखि उनलाई व्यथाले सताउन थाल्यो ।

स्वास्थ्यकर्मीले प्रसूति कोठामा पठाएनन्। बाहिरै बस्न लगाए । साह्रै समस्या भएपछि जीसीले अनुनयविनय गरिन्। त्यसपछि बल्ल भित्र पठाइयो । राति अबेरसम्म पनि उनले बच्चा जन्माउन सकिनन् । प्रसव पीडा सहनै नसक्ने भएपछि राति २ बजे पोखरा जानु भनेर स्वास्थ्यकर्मीले रेफर कागज बनाइदिए ।

अस्पतालमा एउटा पनि एम्बुलेन्स थिएन। आफन्तले ट्याक्सी खोजेर पोखरा कुदाए। अविरल वर्षाले पर्वत र कास्की सीमा नजिकै पुग्दा ठूलो पहिरो खसेर बाटो अवरुद्ध थियो। जीसी छटपटाएर साह्रै भएपछि आफन्तले एम्बुलेन्सबाट उतारेर नजिकैको एक घरमा राखे । पर्वतको भ्याप्ले खोलामा अलपत्र पर्दा जीसीकी दिदी पम्फा खडकाले जिल्लाका सांसदसहित धेरै जनालाई फोन गरेर सहयोग माग्दै हेलिकप्टर पठाइदिन गुहार मागिन् । मौसमको समस्या र रातको समय भएकाले त्यो पनि सम्भव भएन ।

बिरामीको छटपटाहट कम नभएपछि राति नै फर्काएर पर्वत जिल्ला अस्पताल र्पुयाइयो । अस्पतालकी प्रमुख डा. हेमा छन्त्यालले राति उठेर अपरेसन गर्ने तयारी गरिन् । प्राविधिक कारणले अपरेसन हुन सकेन। अस्पतालमा बिरामीलाई चाहिने औषधि अभाव थियो । त्यसपछि डा. छन्त्यालले बिहान ४ बजे म्याग्दी जिल्ला अस्पतालका प्रमुख डा.रोशन न्यौपानेलाई फोन गरिन् ।

सबै सामग्री तयार राख्न भनेपछि बिरामीलाई लिएर आफैं बेनी अस्पताल पुगिन् । बेनी पुगेको २० मिनेटमै अपरेसन सफल भयो। डा. छन्त्याल र न्यौपानेले जीसी र बच्चाको ज्यान बचाए । चिकित्सकका अनुसार प्रसूति बेथा लागेको १० घण्टापछि गरिएको अपरेसनबाट दुवैको ज्यान बचाउन सकिएको यो जिल्लाकै नमुना घटना हो । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।