चाउचाउ खाएर छोरीको मृत्यु, आमा र छोरा सिकिस्त

धनुषा, भदौ ८ ।
चाउचाउ खाएर धनुषामा १ बालिकाको मृत्यु भएको छ। घटनामा बालिकाकी आमा र भाइ सिकिस्त बिरामी परेका छन् । धनुषाधाम नगरपालिका ३ तेजनगर बस्ने सत्रुघ्न साहकी ६ वर्षीया छोरी काजलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सत्रुघ्नका पत्नी सावित्री र अर्को छोरा ४ वर्षीय राकेश कुमार साह सिकिस्त बिरामी परेका छन् । वान्ता आइरहेको उनीहरु दुवैजनाको धनुषाधाम बजारस्थित उपचार भइरहेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरिक्षक सुमन थापाले जानकारी दिए ।

शुक्रबार बेलुका करिब ४ बजे चाउचाउ खाएर सुतेका उनी शनिबार विहानसम्म नउठेपछि बालिकाको मृत्यु भएको परिवारजनलाई उद्धृत गर्दै प्रहरी निरिक्षक थापाले बताए। काजलको शव पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।

चाउचाउ खाएकै कारण बालिकाको मृत्यु भएको परिवारजनले दाबी गर्दै आएपनि पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र सत्य तथ्य बाहिर आउने प्रहरी निरीक्षक थापाले जनाए । स्थानीय पसलहरुमा भएको सबै चाउचाउ नियन्त्रणमा लिइ परीक्षणकालागि जनकपुरल्याइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक थापाले बताए ।