चकलेट खान दिएर अपहरण, एक घण्टामै बालकको हत्या

काठमाण्डौं, मंसिर १३ ।
गोंगबुको आफ्नै होटलबाट बेपत्ता सात वर्षीय बालक प्रयास कुँवरको अपहरण भएको एक घण्टामै हत्या भएको रहस्य खुलेको छ । मंगलबार गोंगबुस्थित स्वस्तिका त्रिवेणी गेस्ट हाउसका सञ्चालक प्रविण कुँवरका सात वर्षीय छोरा प्रयास कुँवरको होटलकै गाडी चलाउने स्याङ्जाका महेन्द्र एसकेले चकलेट खान दिएर अपहरण गरेको प्रारम्भिक बयान दिएका छन् ।

बेलमन इन्टरनेशनल स्कुलमा कक्षा १ मा अध्ययनरत कुँवर उक्त दिन तीन बजे स्कुलबाट घर आइपुगेका थिए । उनी सो दिन साढे पाँच बजेसम्म आमाबुवाको आँखा अगाडि खेलिरहेका थिए । बाबु प्रविण कुँवर आमा दुवै गौंगबुस्थित विनायक अस्पताल जाने भन्दै निस्किए । त्यही मौकामा महेन्द्रले आफुले चलाउने बा ९ च ५७६७ नम्बरको गाडीमा राखेर प्रयासलाई लिएर गए ।

पाँच बजे अस्पताल गएका बाबुआमा साढे ६ बजे होटल फर्कँदा छोरा होटलमा नभएपछि सोधखोज सुरु गरेका थिए । हत्याको आरोपमा पक्राउ परेका एसके पनि सो समयमा होटलमा नभएको बाबुआमाले बताएका छन् ।

छोरा नभेटिएपछि उनीहरुले चालक एसकेलाई फोन गरेर सोधेको र उनले बालक आफूसँग नभएको जवाफ दिएका थिए । बाबुआमाका अनुसार बालक र चालक एकैसाथ हराएका थिए । बालकसँगै हराएका चालक एसके भने ७ बजेर ४९ मिनटमा सम्पर्कमा आएका थिए । ती चालक एक महिनदेखि उक्त होटलको गाडी चलाउँदै आएका थिए ।

महाशाखाका डिएसपी रुगम कुँवरले बालकलाई आरोपीले चकलेट किनिदिएको पसल र उनीसँगै रहेको प्रमाणित भएको बताए । उनका अनुसार चकलेट खान दिएको केही समयमै बालकको हत्या भएको थियो ।

अनुसन्धानमा संलग्न अधिकारीहरुले लासको प्रकृतिका आधारमा मंगलबार साँझै हत्या भएको बताए । महानगरीय प्रहरी अपराध महाशाखाले एसकेलाई बिहीबार बिहान पक्राउ गरेको हो । पक्राउ परेपछि उनले दिएको बयानकै आधारमा प्रहरीले बालकको शव फेला पारेको हा ।

उनले बारम्बार बयान फेरिरहेकाले बालकको शब फेला पार्न बिहीबार बिहानदेखि महाशाखाको टोलीले म्हेपी र बिष्णुमतिका ठाँउ ठाँउमा खोजी गरेको थियो । एसकेले घटनामा आफूमात्रै हो या अरुको पनि संलग्नता हो भन्ने बारेमा केही खुलाएका छैनन् ।