घैरुङमा माघेसंक्रान्ति मेलाको तयारी तीब्र, हिमालय देवी कप फुटवल हुने

पोखरा, पुस १७ ।
शहीद लखन गाउँपालिका ६ घैरुङमा माघे संक्रान्ति मेलाको तीब्र तयारी गरिएको छ । खेलकुद र समाज विकासका लागि काम गर्दै आएको पिपलछाप स्थित हिमालय देवी यूवा क्लवको आयोजनामा रमाईलो मेला तथा हिमालय देवी कप हुन लागेको हो ।

हिमालयदेवी कपमा पहिलो हुनेले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद, कप, मेडल र प्रमाणपत्र पाउने छ भने दोश्रो हुनेले ५१ हजार १ सय ११ नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा सर्वोत्कृष्ट कोच, सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट किप्पर, सर्वोत्कृष्ट खेलाडीलाई पनि पुरस्कार राखिएको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन पुस २४ गतेसम्म दर्ता गर्नुपर्ने छ भने दर्ता गर्नका लागि ८ हजार रुपैयाँ बुझाउनुपर्ने क्लवका सचिव राम गुरुङले जानकारी दिए ।

उनका अनुसार दौड प्रतियोगितामा प्रथम हुनेले ३ हजार ५ सय पुरस्कार सहित मेडल र प्रमाणपत्र पाउने छ । दोश्रोले २ हजार र तेश्रो हुनेले १ हजार ५ सय नगद पाउनेछ । प्रतियोगितामा सहभागी हुन २ सय १५ रुपैयाँ तिरेर पुस २९ गतेसम्म नाम दर्ता गराईसक्नुपर्ने छ ।

क्लवले गोरु जुधाई प्रतियोगिता पनि गर्न लागेको छ । गोरु जुधाई प्रतियोगितामा पहिलो हुनेले ८ हजार पाउने छ भने दोश्रोले ४ हजार पाउने छ । १ हजार रुपैयाँ तिरेर आफ्नो गोरुको दर्ता पुस २९ गतेसम्म गर्नुपर्ने आयोजकले जनाएको छ ।

कृषि प्रदर्शनी तथा हस्तकला प्रतियोगिता अन्तर्गत चकटीमा पहिलो हुनेले १ हजार नगद, दोश्रोले ६ सय र तेश्रोले ४ सय पाउनेछ । खुर्पिटेकतर्फ पहिलोले १ हजार ८ सय, दोश्रोले १ हजार २ सय र तेश्रोले १ हजार तथा डोको प्रतियोगितामा पहिलोले १ हजार ८ सय, दोश्रोले १ हजार २ सय र तेश्रोले १ हजार नगद पुरस्कार पाउने छ । मेला पुस २५ देखि माघ १ गतेसम्म चल्ने क्लवका अध्यक्ष निर्मल गुरुङले जानकारी दिए । यो ठाउँमा विगत लामो समयदेखि मेला हुँदै आएको थियो ।