घैरुङको ब्राण्ड बन्दै गोरु जुधाई

गोरखा, माघ ३ ।
केही बर्षअघि सम्म मान्छेहरुको घमासान लडाईं हुन्थ्यो । गाउँगाउँ बीच झगडा चल्थ्यो । कति त गम्भीर घाईते हुन्थे । तर अव समय फेरियो । मान्छेको बिचार पनि मोडियो । मान्छे जुध्ने हिमालयको जात्रा अव महोत्सवको रुपमा चल्न थालेको छ, त्यो पनि नयाँ कन्सेप्टले ।

गोरखाको शहीद लखन गाउँपालिका ६ घैरुङ स्थित पिपलछापमा प्रत्येक बर्ष माघे संक्रान्तिमा मेला लाग्छ । बिगत एकदशक देखि गोरु जुधाउने प्रतिश्पर्धा चल्छ । मान्छे जुध्ने यो मेलालाई गोरुले रिप्लेस गरिदिएको छ । अहिले गोरु जुधाई घैरुङको ब्राण्डको रुपमा स्थापित भएको छ ।

यहाँ प्रत्येक बर्ष दर्जनौं गोरु प्रतिश्पर्धाका लागि ल्याईन्छ । यो बर्षपनि १२ हल गोरुबीच प्रतिश्पर्धा थियो । गोखराको शहीद लखन गाउँपालिका सहित, भीमसेन थापा गाउँपालिका, गण्डकी गाउँपालिका र धादिङका गोरु समेत सहभागी गराईएको थियो ।

‘सँधै मान्छेको जुधाई हुन्थ्यो । अहिले मान्छेको ठाउँमा गोरु जुध्छन् । मान्छे पाखामा बसेर रमाइलो गर्छन्,’ पिपलछापका अगुवा रणबहादुर गुरुङ भन्छन्, ‘६–७ बर्षदेखि गोरु जुधाई प्रतियोेगिता गर्न थालेका हौं । अहिले टाढाटाढाका गोरु पनि आउन थालेका छन् । विस्तारै यो कार्यक्रम सफल हुँदै गएको छ । यसले समग्र घैरुङकै पहिचान पनि बढाएको छ ।’

हिमालय देवी यूवा क्लवको आयोजनामा यो प्रतियोगिता हुन थालेको हो । यूवाहरुले नेतृत्व गरेको यो क्लव दक्षिणी गोरखाको उदाहरणीय क्लव हो । गोरु जुधाई नेपालको ऐतिहासिक कार्यक्रम हो । ‘धेरै ठाउँमा यो लोप हुँदै गएको छ । त्यसैको जगेर्ना गर्न पनि महोत्सवमा गोरु जुधाउन थालेका हौं,’ क्लवका अध्यक्ष निर्मल गुरुङले भने, ‘यूवाहरुले नेतृत्व गरेको हुँदा यो अव स्थापित हुन्छ । यसैका कारण घैरुङलाई सारा नेपालमा परिचित गराउँछौं ।’ उनले यसलाई पर्यटनसँग जोड्न लागेको योजना सुनाए ।

खासगरी गोरखा, धादिङ र नुवाकोट लगायतका जिल्लामा गोरु जुधाउने परम्परा अझै कायम छ । गोरु जुधाई प्रतियोगितामा पहिलो प्रत्येक गोरुका धनीलाई ८ हजार नगद पुरस्कार दिईएको छ भने आवश्यक औषधी समेत उपलब्ध गराईएको थियो ।

माघे संक्रान्ति मेलाकै अवसरमा खुला पुरुष फुटवल प्रतियोगिता समेत भएको छ । प्रतियोगितामा राइजिङ स्टार फुटवल क्लवले उपाधी उचालेको छ । चाइनिज धारा फेमेलिलाई पराजीत गर्दै राइजिङ स्टारले १ लाख ११ हजार १ सय ११ नगद सहित कप, मेडल र प्रमाणपत्र पुरस्कार पायो । उपविजेता चाइनिजधाराले ५१ हजार १ सय ११ रुपैयाँमा चित्त बुझायो ।

सोही अवसरमा खुला दौड, हस्तकला प्रतियोगिता, कृषि प्रदर्शनी पनि गरिएको क्लवका सचिव राम गुरुङले जानकारी दिए । मेलालाई सम्बोधन गर्दै गोरखा क्षेत्र नम्बर १ का सांसद हरिराज अधिकारीले यूवाको साथले मात्रै देश समृद्ध हुने बताए । उनले यस क्षेत्रको विकासका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा गाउँपालिका अध्यक्ष रमेश थापा, नेकपा अध्यक्ष मनोज जोशी, काँग्रेस सभापति श्रीकृष्ण ढकाल लगायतले बोलेका थिए ।

तस्विरः प्रकाश ढकाल