घाटमा लगिएकी महिला पानीमा आधा शरीर डुबाउँदा चल्मलाएपछि अस्पताल भर्ना
पाल्पा, साउन ७ ।
अन्तिम संस्कारका लागि घाटमा लगिएकी एक महिलाको फेरि उपचार सुरु भएको छ । अन्तिम संस्कारका लागि भन्दै घाट लगिएकी रैनादेवी गाँउपालिका–१, सिद्धेश्वरकी ३६ वर्षीया नर्मता ज्ञवालीको अहिले लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भैरहेको छ ।
ज्ञवालीको तानसेनकै युनाइटेड मिशन अस्पतालमा १० दिनसम्म उपचार भएको थियो । आफन्तकै आग्रहमा अस्पतालले सोमबार दिउँसो अक्सिजन लगाएर बिरामीलाई डिस्चार्ज गरेको थियो ।
वडाध्यक्ष सोमबहादुर दर्लामीका अनुसार अक्सिजन निकालेको आधा घण्टापछि बिरामीको ज्यान गएको हल्ला चलेको थियो । त्यसपछि बिरामीका आफन्तले नर्मतालाई सिधै रिँडी घाट र्पुयाएका थिए ।
आधा शरीर पानीमा डुबाएको केही समयपछि बिरामी चल्न र कराउन थालेपछि तत्कालै गुल्मीको रिँडी प्राथमिक स्वास्थ्य केन्द्र र्पुयाइएको थियो । स्वास्थ्यकर्मीले धड्कन र नाडी चलेकाले थप उपचारका लागि अस्पताल लान सुझाव दिए । त्यसपछि सोमबार बेलुकी लुम्बिनी मेडिकल कलेज प्रभासमा भर्ना गरी नर्मताको उपचार भैरहेको छ ।