घरसँगै जलेर खरानी भयो ४ जनाको परिवार, राति अचानक कसरी लाग्यो आगो ?

झापा, मंसिर १० ।
झापाको शिवसताक्षी नगरपालिका( ७ लाल्झोडास्थित एक घर जलेर खरानी भएको छ । घरसँगै आगोले जलेर परिवारमा रहेका ४ जनाको समेत मृत्यु भएको छ । आइतबार राति करिब ९ बजेतिर घरमा अचानक सल्किएको आगोले उक्त दुर्घटना निम्तिएको इलाका प्रहरी कार्यालय झिल्झिलेले जानकारी दिएको छ । परिवारका सबै सदस्य सुतिरहेको बेला आगलागी भएकाले जलेर सबैको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीय भानु माध्यमिक विद्यालयबाट २० मिटर नजिक रहेको खनाल परिवार घरसँगै जलेर खरानी भएको हो । जलेर मृत्यु हुनेमा ३६ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया राधिका खनाल, ४ वर्षीया सुप्रिया खनाल र ३ महिनाका नाबालक टीकाराम खनाल रहेका छन् ।

खाना खाएर सुतिसकेपछि सो घरमा आगलागी भएको र आगलागीमा खाना पकाउने एलपी ग्यासको सिलिन्डर विष्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । आगलागीमा परी छिमेकी घरकी ३७ वर्षीया गीता ढुङ्गेल समेत सख्त घाइते भएको जनाइएको छ । घाइते गीतालाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको छ ।

काठको घरमा परिवारका सदस्य सुतेको र भुइँतलामा थ्रेसर राख्ने गरिएको थियो । विभिन्न नगरपालिकाबाट आएको दमकलको सहायताले आगो नियन्त्रणमा आइसकेको र अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।