घरभित्रैको ट्याङ्कीमा एकै परिवारका ५ जनाको शव भेटियो, घटना रहस्यमय

बारा, असोज १६ ।
एकै घरका ५ जनाको शव घरभित्रै रहेको ट्यांकी (खाल्डो) भित्र भेटिएको छ । बाराको फेटा गाउँपालिका– ४ एक घरभित्रै रहेको अन्दाजी ६ फिट गहिरो सो ट्यांकीमा ती शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । उक्त ट्यांकी मदिरा उत्पादनका लागि बनाइएको खुलेको छ ।

जिप्रका बाराका प्रवक्ता डिएसपी रञ्जित सिंह राठौरले बताएअनुसार उक्त शवहरू एकैघरका दुई दाजुभाइका परिवारका ५ सदस्यको रहेको खुलेको छ ।

यसरी मृत अवस्थामा फेला पर्नेमा बारा बतरा टोलका ४० वर्षीय जोगा मुखिया बिन, उनकी पत्नी लालमुनी देवी, छोरी १० वर्षीय सुमनी कुमारी, जोगाका भाइ करिब ३५ वर्षीय महेन्द्र मुखिया बिनलगायत रहेका छन् । मृतक महेन्द्रका श्रीमती र उनका २ छोरी भने घरबाहिर भएकोले सुरक्षित रहेको बताइएको छ ।

बुधबार राति ८ बजेतिर प्रहरीले सो घटनासम्बन्धी जानकारी पाएको थियो । त्यसलगत्तै अनुसन्धान थाल्न जिप्रका बाराका प्रमुख एसपी विकासराज खनालसहितको टोली त्यसतर्फ गएको जनाइएको छ ।

घटना रहस्यमय रहेको छ । उनीहरूको मृत्युको कारण थाहा हुन सकेको छैन । ट्यांकीभित्र निसासिएर ज्यान गुमाएको हुन सक्ने प्रारम्भिक अनुमान छ यद्यपि थप रहस्य अनुसन्धानपछि खुल्ने देखिन्छ ।

File Photo