घरभाडा सरोकारको साधारणसभा, पत्रकार सिग्देल सम्मानित

पोखरा, भदौ ३१ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद तथा फेवा पोस्ट साप्ताहिकका सहसम्पादक श्रीराम सिग्देल सम्मानित भएका छन् । नेपाल राष्ट्रिय घरभाडा सरोकार पत्रकारिता पुरस्कार २०७४ वाट शनिवार पुरस्कृत भएका हुन् । घरभाडा सरोकार समितिको पाँचौँ साधारणसभाको अवसरमा सिग्देललाई नगद ५ हजार ५ सय ५५ सहित प्रशंसापत्र र दोसल्लावाट पुरस्कृत गरिएको हो ।
सिग्देल १० वर्षदेखी फेवा पोष्ट साप्ताहिक पत्रिकामा सहसम्पादकको रुपमा कार्यरत छन् । २०५४ सालमा आदर्श समाज दैनिकवाट पत्रकारिता सुरु गरेका सिग्देलले जनमत दैनिक, दृष्टि साप्ताहिक, भञ्ज्याङ दैनिक र इमेज एफएममा पनि काम गरे । प्रेस चौतारी कास्कीका पूर्व अध्यक्ष उनी हाल केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् । चलचित्र पत्रकार संघ कास्कीको संस्थापक अध्यक्ष समेत रहेका उनी हाल सल्लाहकारको भुमिकामा छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका ४ नम्बर प्रदेश अध्यक्ष सञ्जीववहादुर कोइरालाले घरभाडाको विषयमा पटक पटक विवाद हुने गरेकोले यसलाई व्यवस्थित बनाउन कानुनमै उल्लेख हुनुपर्ने बताए । घरभाडाको कारणवाट व्यवसायीहरु पीडित वन्नुपरेको उनको भनाई छ । कार्यक्रममा संस्थाका अध्यक्ष यामनाथ पौडेल, पोखरा उद्योग वाणिज्य संघका सदस्य गीता तिवारी, मदिरा व्यवसायी समितिका अध्यक्ष तारानाथ ढुँगाना, महासचिव कमलप्रसाद न्यौपाने लगायतले बोलेका थिए ।