‘गोर्खा भर्तिमा पैसाको चलखेल’

पोखरा, भदौ २८ ।
लमजुङका १९ बर्षिय रोशन गुरुङ ब्रिटिश लाहुरेमा भर्ति हुने मन लिएर पोखरा हान्निए । दुई बर्ष अघि एसएलसी पास गरेपछि उच्च शिक्षा सहित लाहुरेमा देखिने रहरले उनको पाईला पोखरा डोहोरियो । पोखरा आएकै बर्ष ब्रिटिश लाहुरेमा आबेदन खुल्दा उनले पनि देखाए । दुर्भाग्य उनको नाम निस्किएन । लाहुरेको लिष्टमा नाम नपरेकै दिन उनले सोचे अर्को पटक झन् राम्रो गरेर भर्तिमा छानिन्छु । त्यसपछि इण्डियन लाहुरेमा पनि दुई पटकसम्म नाप्न लगाए । दुबै पटक भाग्य दाहिना परेन । पटक पटक फालिएपनि उनको आश भने मरेको थिएन र यो पटक पुनः ब्रिटिश लाहुरेमा आबेदन दिए । छनौटका सबै चरणमा उनले निकै राम्रो प्रदर्शन गरे र उत्कृष्ट बने पनि । तर नतिजा चाहीँ यसपालि पनि उनको विपरित भयो । भर्ति हुन सकेनन् ।
‘पोखरा आउँदा पहिलो पल्ट भनेर खासै चिन्ता परेन । बरु सिक्ने मौका पाएँ, गुरुङले भने–यसपाली त भर्ति हुन्छु भन्ने लागेको थियो । सबै ठाउँमा पहिलो भएँ, तर नाम निस्किएन ।’ आँफुभन्दा कमजोर भर्ति भएर आफ्नो नाम नपर्दा दुख लागेको उनी सुनाउँछन् । ‘छनौटमा पुल अप १८, सिटअप १ सय १२ थियो । आठ सय मिटर दौड २ मिनेट ११ सेकेन्डमा पार गरें, उनी थप्छन्–नाम निस्किनेमा ढुक्क थिएँ । तर रातारात लिष्टबाट मेरो नाम हटेछ ।’ आँफुले नसोचेको रिजल्ट सार्वजनिक भएको उनको गुनासो छ । रोशनले भारतीय र बेलायती सेनाका लागि चार पटकसम्म आवेदन दिएपनि सफल भएनन् ।
उनीजस्तै अर्का प्रतिश्पर्धी अनिल तुलाचन पनि ब्रिटिश लाहुरेका मुख्य दावेदार हुन् । छनौटका बेला उनको प्रदर्शन तारिफ योग्य थियो । ‘सकेको मेहिनेत गरें । लाहुरे बन्ने पूरै विश्वास थियो, उनले भने–हामीभन्दा कमजोरको नाम निस्कियो । हामी हेरेको हे¥यै भयौं ।’ रोशन र अनिलजस्ता धेरै युवाहरु पैसाको सिकार भए । योग्यहरुलाई फालेर अयोग्य भर्ति गरेको उनीहरुको गुनासो छ । ब्रिटिस आर्मी र सिंगापुर पुलिस भर्ती हुने प्रक्रिया पैसामा विक्न थालेको सम्बन्धितहरु बताउँछन् । पिपुल्स् एक्सन पार्टी र गोर्खा जस्टिस् पोखराले सोमबार पत्रकार सम्मेलन गरी गोर्खा भर्ति दलालको दलदलमा फसेको आरोप लगाए । पिपुल्स् एक्सन पार्टीका अध्यक्ष बलराम थापामगरले परीक्षामा सर्वोत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने युवालाई भर्ती नलिई अनुचित लाभको प्रलोभनले आफैँले इच्छाएका व्यक्तिहरुलाई भर्ति लिएको बताए । उनले बाहिरी भर्ती तालिम केन्द्रको ड्रेस लगाएर छनौटमा गएका प्रतिश्पर्धीलाई कोडको संकेत हेरेर प्राथमिकता दिने गरेको दावी गरेका छन् ।
‘बाहिरको ड्रेस लाउन दिनु हुँदैन । पैसाको भरमा अनेक जालझेल गरिएको छ, उनी भन्छन्–भर्ती छनौट गर्दा भन्ने गरिएको फ्रि, फेयर र ट्रान्सपसेन्स देखिएन । यो सरासर गल्ती हो ।’ पैसाको चलखेलमा अयोग्लाई भर्ती गराउन थालको उनी बताउँछन् । गोर्खा भर्तीलाई पैसासँग बेच्ने गरेको गोर्खा जस्टिस्का अध्यक्ष नरेश गुरुङको आरोप छ । ‘धेरै युवाहरु उत्कृष्ट छन् । गरिव भएपनि मेहिनत गरेर राम्रो पर्फरमेन्स दिएका छन्, गुरुङले भने–पैसा खाएर लो प्रोफाईलको मान्छे भर्ति गरिएको छ । राईट क्याण्डिडेट भर्ति भएर जाओस् ।’ उनले सर्भिसमा कार्यरत व्यक्तिलाई नै बेलायतबाट बोलाएर छनौट गर्नुपर्नेमा जोड दिए । ‘भर्तीमा पैसाको बार्गेनिङ ठूलो छ । आस र लोभले कोही पनि पीडित खुलेर बोल्न सक्दैनन्, उनी भन्छन्–ठ्याक्कै नभएपनि ३५ लाखसम्म चलखेल हुने गरेको सुनिन्छ । यो यथार्थ हो ।’
भर्ती गराइदिन्छु भन्ने दलालहरु सक्रिय भएपछि भर्ती प्रक्रियामा आर्थिक चलखेल हुन थालेको पीडित मध्येकी एक इन्द्रा गुरुङ बताउँछिन् । नतिजा प्रकाशित हुने मितिभन्दा एक साता अघि नै आफ्नो छोरो छनौट नभएको खबर सुनेको उनले बताईन् । ‘भदौ २४ गते नजिता आउट हुनुपर्ने हो । तर भदौ १७ गते नै छोरो भर्ती नभएको खवर सुनेको थिएँ, उनले भनिन्–पैसाको चलखेल नभए गोप्य सूचना कसरी बाहिरियो ?’ पैसा बार्गेनिङ गर्न दलालहरुले अफवाह फैलाउने गरेको उनको गुनासो छ । भर्ती छनौटमा सहभागी एआरो साआरोहरुको सम्पति सुद्धिकरण गरेर गल्ती गर्नेलाई कारबाही गर्नुपर्ने उनीहरुको सुझाव छ ।