गोरखा सहित बट्टार र भैरहवामा पेट्रोलियम भण्डार बनाउने प्रश्ताव

काठमाण्डौं, असार २ ।
सरकारले गोरखा सहित बट्टार र भैरहवामा पेट्रोलियम पदार्थको भण्डारण स्थल बनाउने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा तीन ठाउँमा पेट्रोलियम भण्डारण केन्द्र निर्माणका लागि सहयोग गर्न प्रस्ताव गर्न लागिएको हो । करिब १ लाख ५० हजार किलोलिटर पेट्रोलियम पदार्थ अटाउने गरी तीनवटा भण्डारण केन्द्र निर्माणका लागि सरकारले प्रश्ताव तयार गरेको छ ।

यसअघि भारतीय नाकाबन्दीका समयमा नै चीनले नेपालमा ३ स्थानमा पेट्रोलियम भण्डारण केन्द्र निर्माण गर्न सहमति जनाइसकेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको एक समितिले चीनसँग कहाँ–कहाँ पेट्रोलियम भण्डारण केन्द्र निर्माण गर्ने भन्ने अध्ययन गरेको छ ।

समितिले गोरखा, नुवाकोट र रुपन्देहीमा चीनको सहयोगमा यस्ता भण्डारण केन्द्र स्थापना गर्न सकिने भन्दै सिफारिस गरेको छ । यसअनुसार गोरखाको गोरखकाली रबर उद्योगको करिब २ सय रोपनी जग्गा प्रयोग गर्न प्रस्ताव गरिएको छ । त्यहाँ करिब ६० हजार किलोलिटर तेल भण्डारण गर्न सकिने अनुमान समितिको छ ।

त्यसैगरी नुवकोटको बट्टारमा पनि झण्डै २५० रोपनी जग्गामा पेट्रोल भण्डारण गर्न सकिने निश्ष्कर्ष समतिको छ । केही सरकारी जग्गा रहेको केही मोहियानी जग्गालाई अधिग्रहण गरेर भण्डारण केन्द्र निर्माण गर्न सकिने देखिएको आपूर्ति मन्त्रालयको एक उच्च अधिकारीले बताए । त्यसैगरी भैरहवामा विमानस्थामा हवाई ईन्धनको भण्डारण तथा वितरणका लागि पनि अर्को डिपो चीनलाई नै बनाउन दिनेबारे छलफल भएको छ ।