गोरखा पुगेर मन्त्री थापाले भनेः स्वास्थ्यकर्मी नै कोरोना विरुद्ध लड्ने मुख्य सेना हुन्

गोरखा, बैशाख १ ।
गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापा मगरले नोबेल कोरोना भाइरस (कोविड १९ ) को विरुद्ध लड्ने मुख्य सेना भनेकै स्वास्थ्यकर्मीहरु भएको बताएका छन् । सोमबार गोरखा जिल्ला अस्पतालमा भइरहेका गतिविधिहरुको जानकारी लिएपछि मन्त्री थापाले भने, ‘जसरी देशको सिमा रक्षा गर्न सेना अग्रमोर्चामा रहन्छ त्यसैगरी रोगसँग लड्न स्वास्थ्यकर्मीहरु नै अग्रमोर्चामा रहन्छन् । तपाइँहरुको सुरक्षाका लागि आवश्यक सुरक्षाको व्यवस्थापनका लागि सरकारले पूर्ण रुपमा सहयोग गर्छ । निर्धक्कसँग विरामीको उपचार गर्नुहोस् ।’

अस्पताल अनुगमनका क्रममा मन्त्री थापाले स्वास्थ्यकर्मीहरुको समस्या समाधान गर्न आफूले पहल गर्ने बताउँदै अस्पतालमा आएका विरामीहरुको भएका स्रोतसाधन र जनशक्ति परिचालन गरी उपचार गर्न सुझाव दिएका थिए । जिल्ला अस्पतालको भवन निर्माणाधिन अवस्थामा रहेकोले आवासगृहलाई अस्पतालको रुपमा सञ्चालन गरिएको छ । डाक्टरहरुको आवास भाडामा लिएर भएपनि तुरुन्त सञ्चालन गर्न उनले अस्पताल विकास समितिलाई निर्देशन दिएका छन् ।

गएको भदौ महिनादेखि दुर्गम जिल्ला गोरखामा काम गर्ने डाक्टरहरुले चिकित्सक भत्ता, जोखिम बहन भत्ता समेत पाउन सकेका छैनन् । गोरखा जिल्लामा कार्यरत रहेर अध्ययन विदामा रहेका चिकित्सकहरुलाई समेत सरकारले तलव निकासा गरेको छैन ।

मन्त्री थापाले प्रमुख जिल्ला अधिकारीसँग जिल्लाको तत्कालिन वस्तुस्थितिको बारेमा जानकारी लिएका थिए । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्लामा कुनै पनि नागरिक भोकै बस्नु नपरेको बताए । जिल्लाको उत्तरी क्षेत्रमा खच्चडबाट हुने ढुवानी बन्द गरिएको र अत्यावश्यक बाहेकका सबै सवारीसाधनहरु चल्ल निषेध गरेको मन्त्रीलाई जानकारी गराएका छन् । र्यापिड डाइग्नोस्टिक टेस्ट गर्ने क्रममा सबै नतिजा नेगेटिभ देखिएको पौडेलको भनाई थियो । मन्त्री थापाले सुरक्षाकर्मीहरुको मनोबल उच्च हुने गरी प्रदेश सरकारले काम गरिरहेको बताए ।

उनले द वल्र्ड क्यापिटल विद्यालयमा निर्माण भएको आइसोलेशन कक्षको समेत अनुगमन गरेका थिए । अनुगमनको क्रममा हात धुने पानीको धारा, पकाउने ठाउँ, डाक्टर बस्ने ठाउँ, डाक्टर र विरामी हिड्ने अलग अलग बाटो निर्माण, रङरोगन, प्रयाप्त ग्याँस सिलिण्डरको व्यवस्थापन तत्काल गर्न सुझाव दिए । जिल्ला अस्पतालमा आइसियु कक्ष निर्माणको तयारी थाल्न उनले निर्देशन दिएका छन् ।

बाग्लुङमा टेन्डर समेत भईसकेको बताउँदै आवश्यकता र जोखिमको हिसावमा पनि गोरखाले ढिला गर्न नहुने उनले बताए । अस्पतालमा आवश्यक पर्दा तत्काल प्रयोगका लागि १० थान पिपिइ सेट मन्त्री थापाले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट नवीन थापालाई हस्तान्तरण गरेका थिए ।