गोरखा दुर्घटना अपडेटः मृतक पाँचैजनाको सनाखत

पोखरा, असार ८ ।
गोरखामा जन्ती सवार जिप दुर्घटनामा परी ज्यान गुमाएका पाँचै जनाको सनाखत भएको छ । मृतकमध्ये ४ जना एउटै वडाका हुन् । शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाका १९ वर्षीय प्रविन थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षकै नविना थापाको दुर्घटनामा मृत्यु भएको छ ।

यसैगरी शहीद लखन गाउँपालिका वडा नम्बर ४ का ६४ वर्षीय धनबहादुर थापाको पनि दुर्घटनामा मृत्यु भएको छ । अन्य १२ जना घाइते छन् । डिएसपी लिलाराज लामिछानेका अनुसार शहीद लखन गाउँपालिका वडा नम्वर ३ कोटगाउँबाट जन्ती लिएर पोखरीडाँडा जाँदै गरेका तीनवटा गाडीहरुमध्ये प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जिप पातलेखोला भन्ने ठाउँमा दुर्घटना भएको हो ।

गम्भीर घाइते शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाका ३८ वर्षीय लालु थापालाई चितवन मेडिकल कलेज भरतपुरमा रिफर गरिएको छ भने अन्य ११ जना घाइतेहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ । उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीले पनि सघाएका थिए ।