गोरखाली सांसदहरुलाई पोखरामा सम्मान, समृद्धीको नेतृत्वपनि गोरखाले लिन्छ–भट्टराई

पोखरा, पुस ३० ।
पूर्व प्रधानमन्त्री तथा गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य डा. बाबुराम भट्टराईले आर्थिक समृद्धीको नेतृत्व गोरखाले लिने बताएका छन् । गोरखा मिलन समाज पोखराले आयोजना गरेको सांसदहरुको बधाई तथा सम्मान तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै उनले भौगोलिक एकीकरण र जनतालाई अधिकार सम्पन्न गर्ने अगुवाई गोरखाले गरेको भन्दै आगामी कार्यदिशा पनि गोरखाकै नेतृत्वमा सम्भव हुने बताए । ‘पृथ्वीनारायण शाहले नेतृत्व गरेर नेपालको भौगोलिक एकीकरण सफल भयो । जनतालाई अधिकार सम्पन्न बनाउने आन्दोलनका नेता पनि गोरखाली नै थिए लखन थापा, उनले भने–अव देश आर्थिक समृद्धीतर्फ अगाडी बढेको छ । यसको नेतृत्व पनि गोरखाले नै लिनेछ, लिनुपर्छ ।’ उनले गोरखा र गोरखालीको शिर निहुरिने गरी कुनैपनि काम नगर्ने प्रतिबद्धता जनाएका छन् । डा. भट्टराईले राजनीतिक दलका मूल्य मान्यता भन्दा माथी रहेर गोरखा मिलन समाजले गरेका सामाजिक, आर्थिक विकास र सेवामुलक काम प्रशंसनीय भएको बताए । ‘भूकम्पपीडितलाई राहात उपलब्ध गराउने काममा होस् वा विद्यार्थीलाई छात्राबृत्ती प्रदान गरेर शिक्षामा सघाउने काम होस् समाजको भूमिका निकै प्रशंसनीय छ, उनी भन्छन्–अव समाजले आर्थिक समृद्धीका लागि जिल्लामा लगानी बढाउन सक्नुपर्छ । समाजसेवा सँगै आर्थिक लगानीलाई पनि जोड्नुपर्छ । यो मेरो अपेक्षा हो ।’
गोरखा क्षेत्र नम्बर १ का सांसद हरिराज अधिकारीले देशको राजनीतिक संक्रमण अन्त्य भएको उल्लेख गर्दै अव विकास र समृद्धीको पक्षमा राजनीति केन्द्रित हुनुपर्ने बताए । क्षेत्र नम्बर १ (क) का सांसद लेखबहादुर थापा, २ (क) का हरिशरण अधिकारी, २(ख) का प्रकाशचन्द्र दवाडी, कास्की क्षेत्र नम्बर १ (क) का सांसद दीपक कोइराला लगायतले गोरखा मिलन समाजको काम सबैले सिको गर्न लायक रहेको भन्दै अझ उचाईमा पुग्नुपर्ने धारणा राखे । समाजले गोरखाबाट र गोरखा जन्मिएर अन्य जिल्लाबाट निर्वाचित प्रदेश र प्रतिनिधीसभाका सांसदहरुलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । गोरखा मिलन समाज पोखराका अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव रमेशकुमार श्रेष्ठले गरेका थिए भने उपाध्यक्ष तथा कार्यक्रम संयोजक तिलक तिवारीले स्वागत गरेका थिए । यसैबीच, कार्यक्रमकै अवसरमा संस्थाले महिला म्युजिकल चियर प्रतियोगिता पनि गरेको थियो ।