गोरखामा लास काटेको घटना–दोषीलाई पक्रन गएको पुलिस रित्तै फर्कियो

गोरखा, साउन २१ ।
गोरखाको धार्चे गाउँपालिका ६ काशिगाउँमा शव चिर्नेलाई पक्राउ गर्न आइतबार गएको प्रहरीको थप बल पनि फिर्ता भएको छ । पीडित पक्षले किटानी उजुरी गरेका रोशन गुरुङ लगायतलाई लिन गएका २९ जनाको टोली आइतबार बिहान रित्तै फर्किएको त्यहाँका गाउँकार्यपालिका सदस्य आशबहादुर घलेले जानकारी दिए ।

गाउँलेले आरोपीहरूलाई पठाउन कडा रूपमा प्रतिवाद गरेपछि प्रहरी रित्तै फर्किएका उनले बताए । ‘बिहान नौ बजेतिर प्रहरीको थप टोली गाउँमा आइपुगेका थिए । गाउँलेहरू पनि ४०–५० जना भेला भएका थिए’ गाउँ कार्यपालिका सदस्य घलेले भने, ‘उजुरी दिनेलाई गाउँमै बोलाएर छलफल गर्छौं । हामी कदापि जाँदैनौं भनेर गाउँलेले एक स्वरले भनेपछि प्रहरी फर्किए ।’ आफ्नो कुरा गाउँमै राख्ने, जिल्लामा नजाने, यसबारे जनप्रतिनिधि, प्रहरी कसैले भनेको पनि नमान्ने गाउँलेको अडान रहेको उनले बताए ।

गाउँकी एक महिला बोक्सी भएकी र उनकै कारण स्थानीय भीम गुरुङको मृत्यु भएको तथा मृतकको शरीरभित्र छेपारो, सर्प, भ्यागुता रहेको प्रमाणित गर्न भन्दै गत साउन ११ गते शव चिरिएको थियो । सो घटनाको नेतृत्व गरेको भन्दै बोक्सीको आरोप खेपेकी काली गुरुङका दुई छोरीहरू सोममाया र राममायाले प्रहरीमा रोशन गुरुङविरुद्ध किटानी जाहेरी दिएका थिए ।