गोरखामा बाबुरामले जित्लान् ? (यस्तो छ मतविश्लेषण)

गोखरा, कार्तिक ८ ।
गोरखाबाट प्रतिनिधिसभाका लागि २ वटा निर्वाचन क्षेत्र रहेका छन् । स्थानीय तहको परिणामलाई आधार मान्दा कांग्रेस बलियो देखिन्छ । यहाँका कुल ११ स्थानीय तहमध्ये ९ वटामा कांग्रेस र २ वटामा माओवादी विजयी भएका थिए । कांग्रेसले जितको ९ मध्ये ७ वटामा माओवादी दोस्रो भएको थियो भने एकएक वटामा एमाले र नयाँ शक्ति दोस्रा भएका थिए । माओवादीले जितेका दुवै ठाउँमा कांग्रेसले पछ्याएको थियो । ०७० सालको निर्वाचनमा यहाँ ३ वटै क्षेत्र माओवादीले जितेको थियो ।
क्षेत्र नम्बर १ मा कांग्रेसका चीनकाजी श्रेष्ठविरुद्ध माओवादी नेता हरिबहादुर अधिकारी प्रतिस्पर्धा गदैछन् । यस क्षेत्रमा गण्डकी नगरपालिका, शहीद लखन गाउँपालिका, गोरखा नगरपालिका (वडा नम्बर १ देखि ७), भीमसेन गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका, चुमनुब्री गाउँपालिका छन् । २ क्षेत्रमा बाँडिएको गोरखा नगरपालिकालाई छाड्दा बाँकी ६ मध्ये ५ वटामा कांग्रेसले जितेको थियो । सहिद लखन गाउँपालिकामा मात्रै माओवादी विजयी भएको थियो । सो गाउँपालिकामा पनि कांग्रेसका उम्मेदवार दोस्रो भएका थिए ।
यहाँ लोकतान्त्रिक गठबन्धनको कारण नयाँ शक्तिको मत पनि कांग्रेस उम्मेदवारलाई जाने सम्भावना छ । यदी त्यसो हो भने उसले पाएको ५ हजार ५ सयभन्दा बढी मतमा कांग्रेसले आशा गर्न सक्छ । जबकि, कांग्रेसले पाएको २४ हजार ४ सयभन्दा बढी मत आफैंमा राम्रो मत हो । त्यहाँ माओवादीले १९ हजार ९ सयभन्दा बढी मत पाएको थियो भने एमालेले १२ हजार ४ भन्दा केही बढी मत पाएको थियो । यहाँ गोरखा नगरपालिकाका १ देखि ७ सम्मका मतलाई जोडिएको छैन । बाँकीमा, दुवै गठबन्धनको मत झन्डै बराबरी रहेकाले कार्यकर्ता र मतदाताहरुको असन्तुष्टि र इमानदारीले नतिजामा भूमिका खेल्न सक्छ ।
गोरखा २ निकै चर्चित क्षेत्र बनेको छ । यहाँबाट वामपन्थी गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार नारायणकाजी श्रेष्ठ र लोकतान्त्रिक गठबन्धनका तर्फबाट नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई प्रतिस्पर्धा गर्दैछन् ।
यस क्षेत्रमा पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, सुलीकोट गाउँपालिका, अजिरकोट गाउँपालिका र गोरखा नगरपालिकाका वडा नम्बर ८ देखि १४ सम्म पर्छन् । गोरखा नगरपालिकाका वडाहरुलाई छाडेर बाँकी ४ वटा स्थानमध्ये ३ मा कांग्रेस र एकमा माओवादीले जितेको थियो । दुवै दलले एक अर्कालाई पछ्याएका थिए ।
गोरखा नगरपालिकाका ८ देखि १४ सम्मका ७ वटा वडामा एमालेले २ वटा वडा अध्यक्ष जितेको थियो । त्यस्तै, कांग्रेसले ४ र माओवादीले १ वटा वडा अध्यक्षमा जितेको थियो । ४ वटा स्थानीय तह र गोरखा नगरपालिकाका वडाको मत जोड्दा माओवादी बलियो हुन आउँछ । उसले कुल १७, ७९४ मत पाएको देखिन्छ । त्यस्तै, कांग्रेसले १७, ०७०, नयाँ शक्तिले ७, ४१६ र एमालेले ७, १७२ मत पाएको देखिन्छ ।
स्थानीय तहमा खसेकै मतअनुसार उम्मेदवारले मत पाउने हो भने वामपन्थी गठबन्धनका उम्मेदवार श्रेष्ठले २४ हजार ९ सय भन्दा बढी मत पाउँछन् । जबकि, लोकतान्त्रिक गठबन्धनका भट्टराईले २४ हजार ४ सयभन्दा केही बढी मत पाउँछन् । उनीहरु बीच लगभग ५ सयको अन्तर देखिन्छ ।
तर, नेपाली राजनीतिका दुई शीर्ष नेताहरुभट्टराई र श्रेष्ठ नै मैदानमा उत्रिसकेपछि त्यसले विगतको मत र घेरा नाघ्ने अनुमान गर्न गाह्रो छैन । पार्टीगत आस्थाका आधारमा भन्दा पनि उनीहरुको व्यक्तित्व प्रतिको ‘लभ–हेट’ले मत बाँडफाँड हुन सक्छ । भट्टराईले निकटका दुई संविधानसभाको निर्वाचनमा गोरखाबाटै जितेका थिए भने श्रेष्ठ पहिलो पटक त्यहाँबाट चुनाव लडिरहेका छन् ।
भट्टराईलाई त्यहाँको मतदातासँग विगतमा गरेको साक्षात्कार र भेटघाटको अनुभव छ । त्यहाँको धेरथोर विकासमा योगदान पुर्याएका र पूर्व प्रधानमन्त्री पनि भइसकेकाले व्यक्तित्वको फाइदा पुग्न सक्छ । अर्कोतर्फ राष्ट्रिय राजनीतिमा श्रेष्ठको योगदान भए तापनि गोरखाका लागि उनी नयाँ प्रयोग हुन् । उनको सबल पक्ष भनेको पार्टीमा आस्था राख्नेहरुले दिने मत मात्रै हो ।
यद्यपि, श्रेष्ठको व्यक्तित्व कमजोर भने होइन । तर बाबुराम जतिको बलियो पनि होइन । गोरखा २ का जनताले व्यक्तित्व रोज्लान् वा पार्टी, त्यो त नतिजाले देखाउनेछ । तर, कडा प्रतिस्पर्धा भने अपेक्षित नै छ ।